काठमाडौं–संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । यही फागुन २९ गतेका लागि तय गरिएको चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि अहिले बिहान १० बजेदेखि २ बजेसम्मको समय तोकेको छ ।


ADVERTISEMENT


आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रपति निर्वाचनका लागि बुधबार १० बजेदेखि अपराह्न २ बजेसम्म दलहरुले उम्मेदवारी दर्ता गर्न सक्ने जानकारी दिए ।


ADVERTISEMENT

# # #


एमालेले टुंग्यायो, कांग्रेस अझै अनिर्णित

संघीय संसद् र राष्ट्रियसभामा बहुमतप्राप्त वाम गठबन्धनले राष्ट्रपतिको उम्मेदवार टुंग्याएको छ । मंगलबार राति अबेरसम्म बसेको एमाले स्थायी समिति बैठकले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने निर्णय गरेको हो । भण्डारीसँगै वरिष्ठ नेता झलनाथ खनालले आकांक्षा देखाएपछि एमालेलाई राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सकस परेको थियो ।

यता कांग्रेसले भने कसलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छैन । यसबारे छलफल भइरहेको कांग्रेस नेताहरुले जनाएका छन् । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित तीन जना र प्रदेश सभा सदस्य राजीव गुरुङको नाम भने मतदाता नामावलीमा समावेश छैन ।

गणतन्त्र घोषणापछि पहिलो राष्ट्रपति डा रामवरण यादवले आफ्नो भूमिका निर्वाह गरिसकेका छन् भने दोस्रो राष्ट्रपतिको रुपमा विद्यादेवी भण्डारी कार्यरत छिन् ।