काठमाडौँ – गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।
सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा समायोजनसम्बन्धी पाँच बुँदे सहमतिपत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार श्रेष्ठलाई माओवादीमा सचिवको जिम्मेवारी दिइने र समायोजन हुने अन्य नेताहरुलाई सम्मानजनक रुपमा संगठनात्मक जिम्मेवारी सहितको कार्यविभाजन गरिने बताइएको छ ।
त्यस्तै पार्टीमा बिचारको स्वतन्त्रता र कामकारवाहीमा एकरुपताको जनवादी केन्द्रीयताको सैद्धान्तीकमान्यता अनुरुप पार्टीलाई सञ्चालन गरिने सहमतिपत्रमा उल्लेख छ । कतिपय बैचारिक बिषयमा महाधिवेशनसम्म पार्टीभित्र छलफल गर्न सकिने समेत सहमति भएको छ ।
कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले माओवादीमा समाहित भएका नेताहरुलाई उचित जिम्मेवारी दिइने बताए । नेसपाका अध्यक्ष महिन्द्र राय यादव पनि महाधिवेशनका समयमा माओवादीमा आउने भन्दै यसमा कुनै विवाद नरहेको उनले बताए ।
प्रचण्डले माओवादी घटकहरुलाई एकतावद्ध हुने आधार तयार भइरहेको भन्दै ढिलोचाडो सवै एकठाँउ आउने धारणा राखे । समाजवादी क्रान्ति अघि बढाउने संकल्पका साथ माओवादी हिडेको भन्दै यसमा सफलता मिल्ने उनले बताए ।
त्यस्तै माओवादीमा समाहित भएका नेता गंगानारायण श्रेष्ठले माओवादी आन्दोलनलाई चौबाटोमा छोडेर नभाग्न बाबुराम भट्टराईलाई आह्वान गरे ।
उनले निर्वाचनअघि माओवादीसंग पार्टी एकता गर्न भट्टराईले सहमति गरे पनि निर्वाचनपछि त्यसबाट पछि हटेको उल्लेख गरे । उनले एकताबद्ध भएर समाजवादको निर्माण हुने भएकाले यसमा गम्भीर हुन कम्युनिष्ट नेताहरुलाई आग्रह गरे ।
२०७२ सालमा माओवादी पार्टी छाड्नुभएका श्रेष्ठ १० बर्षपछि माओवादीमा फकिएका हुन् ।