काठमाडौं–त्रिभुवन विमानस्थल हुँदै दिल्लीको यात्रा गर्दै हुनुहुन्छ भने तपाईं दोहोरो सुरक्षा जाँचको झन्झटमा पर्नुहुन्छ ।


ADVERTISEMENT


तर किन ?


ADVERTISEMENT

# # #


यसबारे सुरक्षा निकायदेखि त्रिभुवन विमानस्थलमा कार्यरत नागरिक उड्डयन कार्यालयका कर्मचारीसमेत बोल्न मान्दैनन् । समाचारमा आफ्नो नाम उल्लेख नगर्ने सर्तमा त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका एक सिनियर अफिसरले भने, ‘वर्षौंदेखि यस्तो चलिरहेको छ, राज्य बोल्नुपर्ने हो हामीले बोलेर के हुन्छ ?’

त्रिभुवन विनास्थल हुँदै दिल्ली जाने यात्रुलाई अन्य यात्रु सरह एक्सरे मेसिनको सहायताले ब्यगेज र बडी सर्च गरेर भित्र पठाएपछि जहाज चढ्ने बेला दोस्रो सुरक्षा जाँच गरिन्छ । यसरी अन्य देशमा जाने यात्रुको ह्यान्ड ब्यागेज र बडी एक पटक मात्र सर्च हुने विमानस्थलमा दिल्ली उड्ने यात्रु भने दुई पटक सुरक्षा जाँचको झन्झटमा पर्छन् ।

‘दोस्रो सुरक्षा जाँचका लागि दिल्ली उड्ने विमानकै अघिल्तिर क्याबिन निर्माण गरिएको हुन्छ’, त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका एक सिनियर अफिसरले भने, ‘भारत जाने जहाज चढ्नुअघि त्यही क्याबिनमा ब्यागेज र बडी सर्च गरिन्छ ।’

यसरी दिल्ली उड्ने विमानका लागि नागरिक उड्डयन प्राधिकरणले दोहोरो सुरक्षा जाँचका लागि आवश्यक क्याबिनको व्यवस्था गरे पनि अन्य देशमा जाने विमानका लागि भने त्यो सुविधा उपलब्ध गराएको छैन ।

विमानस्थल स्रोतका अनुसार सादा पोसाकका भारतीय प्रहरीजस्ता देखिने सुरक्षा अधिकारीले विमान चढ्नुअघि कडा सुरक्षा जाँच गर्छन् ।

भारतको नयाँ दिल्ली उडान भर्दैै आएका एयर इन्डिया, जेट एयर र इन्डिगो एयरलाइन्समा चढ्नुअघि त्यसरी सुरक्षा जाँच गर्नेहरूबारे विमान कम्पनीहरूले ‘हाम्रा निजी सुरक्षाकर्मी हुन्’ भनेर जवाफ दिने गरेको भए पनि उनीहरूको व्यक्तिगत विवरण नेपालको नागरिक उड्डयन प्राधिकरणले माग्न सकेको छैन ।

‘१९९९ मा इन्डियन एयरलाइन्सको विमान अपहरण भएपछि दिल्ली जाने विमानमा छुट्टै सुरक्षा जाँच गर्न थालिएको हो’, त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक राजकुमार क्षत्रीले भने, ‘त्यहाँ सुरक्षा जाँच गर्नेहरू प्रहरी हैनन्, विमान कम्पनीको निजी सुरक्षाकर्मी हुन्, उनीहरूले आइकाओले निर्धारण गरेको स्तर अनुसारको एभिएसन सुरक्षा तामिल पूरा गरेका हुन्छन् ।’

महाप्रवन्धक क्षत्रीले अन्य विमान कम्पनीले पनि त्यसरी छुट्टै सुरक्षा जाँचको सुविधा मागेमा राज्यले निर्णय गरेर दिन सकिने बताए । आइकाओको (एनेक्स–१७ तथा डकुमेन्ट ८९७३) लाई बेस बनाएर हरेक विमान कम्पनीले आफ्नो सुरक्षा कार्यक्रम तय गर्छन् ।

जसअनुसार हरेक विमान कम्पनीको आफ्नै सुरक्षकर्मी हुन्छन् तर नेपालबाट दिल्लीबाहेक अन्यत्र उड्ने विमानमा त्यस्ता सुरक्षाकर्मीले छुट्टै चेकजाँच गरेको पाइँदैन ।