काठमाडौं–प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले नेतृ लक्ष्मी राईलाई राष्ट्रपति उम्मेदवार बनाएको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले
स्रोतलाई जानकारी दिए ।


ADVERTISEMENT


संयोगवस राई र राष्ट्रपति विद्यादेवी भण्डारी दुबैको गृहजिल्ला भोजपुर हो । गएराति एमाले स्थायी समिति बैठकले राष्ट्रपति भण्डारीलाई दोस्रो पटक उम्मेदवार बनाउने निर्णय गरेको थियो । लक्ष्मी कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन् । देवानसिंह २०१५ सालमा सांसद निर्वाचित सांसद भएका थिए । उनी वीपी कोइराला सरकारमा सहायक मन्त्री बने । पञ्चायत कालमा देवानसिंहको हत्या भएको थियो ।


ADVERTISEMENT

# # #


राष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ । एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेरि उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसका एक नेताले एमाले र माओवादीलाई भण्डारीको सट्टा अरुलाई राष्ट्रपतिको उम्मेदवार बनाए कांग्रेसले उम्मेदवारी नदिने सन्देश पठाएको बताए ।

‘राष्ट्रपति भण्डारी र उहाँको राजनीतिक योगदानप्रति हाम्रो सम्मान छ तर उहाँले राष्ट्रिय सभा निर्वाचन अध्यादेशको बेलादेखि जुन भूमिका खेल्नुभयो, त्यसले राष्ट्रपति पदको गरिमा राख्न नसकेको हाम्रो ठम्याइ छ,’ ती नेताले भने । राष्ट्रपति भण्डारीको उम्मेदवारीप्रति असहमति ‘रेकर्ड’ गराउन कांग्रेसले उम्मेदवारी दिन लागेको उनले बताए ।

राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न संविधानले निर्वाचक मण्डलको परिकल्पना गरेको छ । यस्तो निर्वाचक मण्डलमा संघीय संसद (प्रतिनिध सभा र राष्ट्रिय सभा) तथा प्रदेश सभाका सांसद रहन्छन्। उनीहरुको मतभार भने फरक फरक हुन्छ । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुनेगरी गर्नु पर्ने उल्लेख छ ।

तर राष्ट्रपति चयन भएको सात दिन भित्रै उपराष्ट्रपति चयनका लागि निर्वाचन प्रक्रियाको प्रारम्भ गर्नुपर्ने प्रावधान ऐनमा छ । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार सांसद हुनु पर्ने बाध्यता छैन । प्रस्तावक र समर्थक भने सांसद चाहिन्छ । राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक मात्र ५ जना सांसद हुनु पर्नेछ भने समर्थक ५ जना हुनुपर्नेछ । प्रस्तावक र समर्थक प्रदेशका सांसद पनि हुन पाउँछन् ।

संघीय संसदमा सातै प्रदेश सभामा कांग्रेस अल्पमतमा रहेकाले एमाले उम्मेदवार भण्डारी पुनः राष्ट्रपति बन्ने लगभग निश्चित छ ।