काठमाडौं– प्रतिनिधि सभा बैठक बस्न ढिलाई भएको छ ।
आज बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच बालुवाटारमा बसेको छलफलका कारण ढिलाइ भएको हो ।
बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने विपक्षी दलहरूको अडान र त्यसको सामना गर्न सत्तापक्षको रणनीति तय गर्न छलफल भएको छ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बालुवाटार बैठक सम्पन्न भइसकेको जानकारी दिँदै अब संसद् खुलाउने विषयमा विपक्षीसँग संवाद हुने बताएका छन्।
यसबीच, प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले आफूहरू नयाँ बानेश्वरस्थित संसद् भवनमै बैठक सुरु हुने प्रतीक्षामा रहेको बताएका छन्। “हामी यहीँ छौं, सत्तापक्षको बैठक सकिएको खबर आएको छ, तर संसद् सुरु भएको छैन,” खनालले भने।
संसद् सञ्चालनबारे बालुवाटारमा निर्णय लिइएकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आपत्ति जनाएको छ। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस्तो संवैधानिक छलफल संसद् भवनमै हुनुपर्नेमा बालुवाटारमा गरिनु गलत भएको भन्दै असन्तुष्टि व्यक्त गरे।
सत्तारूढ गठबन्धनको आन्तरिक समन्वय र विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक फेरि अनिश्चित बनेको छ। बालुवाटारमा सकिएको छलफलले तत्काल संसद् सञ्चालनमा कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा अबको क्षण महत्वपूर्ण हुनेछ।