काठमाडौं- नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा आएको छ। चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा गुणस्तरीय सामग्री उचित र पारदर्शी मूल्यमा उपलब्ध गराउने लक्ष्यसहित कम्पनीले आफ्नो सेवा सुरु गरेको हो।
चाइनाबजारकी प्रमुख कार्यकारी अधिकृत स्तुती श्रेष्ठका अनुसार कम्पनीले चीनका उत्पादकबाट आफैं वस्तु छनोट गरी प्रत्यक्ष खरिद गर्ने, आफ्नै ढुवानी सञ्जालमार्फत नेपाल भित्र्याउने, आफ्नै गोदाममा भण्डारण गर्ने र आफ्नै वितरण प्रणालीमार्फत ग्राहकसम्म पुर्याउने व्यवस्था गरेको छ। यसले अनावश्यक बिचौलिया हटाएर डेलिभरी समय छोटो र मूल्य प्रतिस्पर्धी बनाउने कम्पनीको दाबी छ।
‘एन्जोय योर शपिङ’ नारासहित सुरु भएको चाइनाबजारले प्रारम्भिक चरणमा विद्युतीय सामग्री, फेसन, लाइफस्टाइल तथा स्वास्थ्य एवं सौन्दर्य सामग्री बिक्री गर्ने जनाएको छ। आगामी दिनमा उत्पादनको दायरा थप विस्तार गरिने कम्पनीले जनाएको छ।
यससँगै चाइनाबजारले काठमाडौंको गुण कम्प्लेक्समा आफ्नो पहिलो एक्सपेरियन्स स्टोर पनि सञ्चालनमा ल्याएको छ, जहाँ ग्राहकले सामान खरिदअघि प्रत्यक्ष हेर्न र अनुभव गर्न सक्नेछन्। कम्पनीले पहिलो चरणमै वीरगञ्ज र भैरहवामा पनि एक्सपेरियन्स स्टोर विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।
चाइनाबजारमा ग्राहकहरूले इसेवा र खल्तीमार्फत डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ। कम्पनीले नेपालमा डिजिटल व्यापार विस्तारसँगै अनलाइन र अफलाइन दुवै माध्यमबाट भरपर्दो तथा सहज किनमेलको अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।



























































