काठमाडौँ – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन् । बुधबार संघीय संसदमा बोल्न नपाएपछि संसद परिसरमै पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहँदा पनि राजीतिक पूर्वाग्रह राखिएको जिकिर गरेका हुन् ।
‘भिजिट भिसा प्रकरणमा मेरो संलग्नता देखाएर जसरी समाचारहरू आएका छन् । र, सामाजिक सञ्जालमार्फत जसरी विचारहरू अभिव्यक्त भएका छन्,’ उनले भने, ‘त्यो असत्य र बेठीक कुरा हो । मेरो कुनै संलग्नता छैन ।’
उनले थपे, ‘मेराविरुद्धमा नियोजित ढंगले, षड्यन्त्रमूलक ढंगले आक्रमण गरिएको छ । यो राजनीतक पूर्वाग्रहले प्रेरित छ, षड्यन्त्रप्रेरित छ र यसको क्रम जारी छ ।’ भ्रष्टाचार नियन्त्रणका लागि हुने कुनै पनि अनुसन्धानलाई आफूले खुला मनले स्वागत गर्ने भन्दै उनले स्वतन्त्र निकायलाई स्वतन्त्र रुपमा अनुसन्धान गर्न दिने कुरामा आफू दृढ रहेको बताए ।
साथै उनले मिडिया र समाजिक सञ्जालमा अपुष्ट र नियोजित सामग्रीकै भरमा राजनीति दिने संस्कार उचित नभएको बताउँदै उनले आफूमाथि षड्यन्त्र गरिएकाले राजीनामा नदिने बताए । ‘मानौँ कि अख्तियारले पहिलो पटक कुनै राष्ट्रसेवकमाथि अनुसन्धान गरिरहेको छ र त्यसको जिम्मेवारी सिधै गृहमन्त्रीले लिनुपर्छ भन्ने ढंगले कुरा कुरा उठिरहेका छन् ।’ उनले भने, ‘म भन्दा पहिले तीन जनाले नेतृत्व सम्हालेका तीन आर्थिक वर्षमा गृहमन्त्रालयका ५ व्यक्तिमाथि अख्तियारले मुद्दा दायर गरेको छ, त्यो बेला पनि सञ्चारमाध्यममा यसरी नै प्रश्न उठेका थिए । कति मन्त्रीले राजीनामा दिए ? कसैले पद त्याग गरेको अवस्था छैन । न्याय त मैँले पनि पाउनुपर्ने होला नि !’
उनले थपे, ‘एकजना राष्ट्र सेवकका माथि अख्तियारले अनुसन्धान गर्दा सम्बन्धित विभागको विभागीय मन्त्रीले राजीनामा दिँदै जाने हो भने एक वर्षमा यो देशमा कति मन्त्री चाहिएलान् ? हामीले कुन थिती बसाल्ने ?’
उनले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रालयका सहसचिव तीथ भट्टराईलाई आफूले गृहमन्त्रालयमा नल्याएको जिकिर गरे । आफू गृहमन्त्री हुनुअघि नै भट्टराईले गृह मन्त्रालय अन्तर्गतका विभिन्न विभाग र कार्यालयमा काम गरिहेको उल्लेख गर्दै उनले भने, ‘मैँले नै उहाँलाई खटाएको होइन । उहाँ २०७७ असार १९ देखि गृह मन्त्रालयमा काम गरिरहनुभएको छ । ’