काठमाडौँ – नेपाली काँग्रेसका पूर्वसांसद अफताब आलमले इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपबाट सफाइ पाएका छन् । उच्च अदालतको वीरगञ्ज इजलासले जिल्ला अदालत रौतहटको आदेश उल्ट्याउँदै आलमलाई सफाइ दिएको हो ।
न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले आलमलाई निर्दोष ठहर गरेको हो । आलमसँगै मोहम्मद महताव आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीले समेत सफाइ पाएका छन् ।
संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर हत्या गरेको आरोप लागेपछि आलम १९ असोज २०७६ मा पक्राउ परेका थिए । त्यसबेला उनी रौतहट क्षेत्र नं. २ का निर्वाचित सांसदसमेत रहेका थिए ।
जिल्ला अदालत रौतहट उक्त मुद्दामा आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । नुख्खु कारागारमा रहेका आलम उच्च अदालतबाट सफाइ पाएसँगै रिहाई हुनेछन् ।