काठमाडौँ – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई आफूले गृहमन्त्रालयमा नल्याएको बताएका छन् । बुधबार संघीय संसदमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफू आउनु अघि नै गृह मन्त्रालयमा रहेका भट्टराईलाई विभानस्थलमा सरुवा गरिएको बताएका हुन् ।
रामबहादुर थापा, बालकृष्ण खाँण, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायाणकाजी श्रेष्ठ, रवि लामिछानेले गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्दा नै अट्टराईले मन्त्रालय अन्तर्गतका विभिन्न विभाग र कार्यालयमा काम गरिसकेको बताए । ‘मैँले नै उहाँलाई खटाएको होइन । उहाँ २०७७ असार १९ देखि गृह मन्त्रालयमा काम गरिरहनुभएको छ ।’ उनले भने, ‘अत्यन्त महत्वपूर्ण विभागमा महानिर्देशक भएर काम गरेको मान्छे कार्यालयको प्रमुख भएर जानुभयो । यो विषयलाई यसरी प्रस्तुत गर्ने काम भयो कि मैँले नै अचानक कुनै ठाउँबाट ल्याएर त्यहाँ सरुवा गरेको हुँ, जुन सही होइन ।’
संविधानले अधिकार प्रदान गरेको सक्षम निकायले राष्ट्रसेवक कर्मचारीमाथि अनुसन्धान गर्नुपर्ने क्रममा अनुसन्धानले पूर्णता नै नपाउदा सम्बन्धित मन्त्रालयको नेतृत्वसँग जोडेर प्रचार प्रचार गर्ने हो भने शासन व्यवस्था ठिक ढंगले चल्न नसक्ने उनले बताए ।
गृहमन्त्री लेखकले यसअघि कर्मचारीमाथि अख्तियारले छानबिन गर्दैमा मन्त्रीले राजीनामा दिएको अवस्था नरहेको भन्दै आफुले पनि न्याय पाउनुपर्ने जिकिर गरे । उनले आफूविरुद्ध कुनै उजुरी वा कुनै छानविन नभएको अवस्थामा पूर्वाग्रह राखेर कर्मचारीमाथि भएको अनुसन्धानलाई राजनीतिक नेतृत्वसंग जोड्न खोजेको बताए ।