काठमाडौँ – गणतन्त्र दिवसका दिन काठमाडौँ जिल्ला नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने प्रधानमन्त्री केपी शर्माओलीको विवादास्पद अभिव्यक्तिको गृहमन्त्री रमेश लेखकले बचाउ गरेका छन् ।
बुधबार भिजिट भिसा प्रकरणमा आफूमाथि लागेका आरोपबारे आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिमा भोलि गणतन्त्रलाई उत्सवका रुपमा मनाउन काठमाडौँलाई संगतमय बनाउने आशय व्यक्त गरेको जिकिर गरेका हुन् ।
‘प्रधानमन्त्रीज्यूले भोलि गणतन्त्र दिवसको अवसरमा काठमाडौँलाई संगतमय बनाऔँ, संगीत महोत्सवका रुपमा अघि बढाऔँ, गणतन्त्रलाई सांस्कृति कार्यक्रमको रुपमा मनाऔँ भन्ने अर्थमा भन्नुभएको मैँले बुझेको छु । त्यसकारण उहाँले संगीतमय नियन्त्रणको कुरा गर्नुभएको हो ।’ उनले भने, ‘त्यो कुनै राजनीतिक नियन्त्रण, हिंसात्मक नियन्त्रण, विध्वंसात्मक निणन्त्रण नभई पूरै काठमाडौँ उपत्यकालाई संगीतमय बनाऔँ भन्नुभएको हो ।’
साथै उनले भोलि हुने राजावादीको आन्दोलनलाई लक्षित गरी विशेष सुरक्षा योजना र शान्ति सुरक्षाको उचित प्रबन्ध गरिएको बताए । गृह प्रशासन वर्तमान संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई पल्टाउने, फाल्ने विषयलाई सहन गर्न नसक्ने बताए ।
साथै उनले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र आफूमाथि राजनीतिक प्रतिशोध र षड्यन्त्र गरिएकाले राजीनामा नदिने जिकिर गरे । कर्मचारीमाथि अनुसन्धान हुँदा आफूले राजीनामा दिनुनपर्ने उनको दाबी थियो ।