हेटौंडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ। युवा तथा खेलकुद पूर्वाधार विकासदेखि लिएर व्यवसायिक प्रशिक्षण र उद्यमशीलता प्रवर्द्धनसम्मका विषय समेटिएका छन्।


ADVERTISEMENT


बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रत्येक निर्वाचन क्षेत्रमा क्रमिक रूपमा एक रंगशाला र एक कबर्डहल निर्माण गरिने उल्लेख छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा केन्द्रित यो कार्यक्रमलाई ‘स्वास्थ्य र अनुशासनका लागि खेलकुद’ नारासहित अगाडि बढाउने सरकारको योजना छ।


ADVERTISEMENT

# # #


नीति अनुसार, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहलगानीमा निर्माण गरी प्रतिफल बाँडफाँडको व्यवस्था गरिनेछ। हेटौंडाको गौरीटारमा निर्माणाधीन अन्तर्राष्ट्रिय खेलकुद रंगशाला र अन्य पूर्वाधारहरूको निर्माण कार्यलाई पनि निरन्तरता दिइने बताइएको छ।

स्थानीयस्तरका खेलहरूलाई प्रोत्साहन गर्दै प्रादेशिक प्रतियोगिता सञ्चालन, साहसिक र पर्वतीय खेलहरूलाई खेल पर्यटनसँग जोड्ने, एन्टी डोपिङ सचेतना कार्यक्रम तथा स्वयंसेवक प्रशिक्षक कार्यक्रमलाई विस्तार गर्ने योजना पनि समेटिएको छ। साथै, ूएक निर्वाचन क्षेत्र, एक बहुउद्देश्यीय खेलमैदानू अभियान सञ्चालन गरी युवालाई उद्यमशीलता, रोजगारी र राष्ट्र निर्माणतर्फ सक्रिय बनाउने लक्ष्य लिइएको छ।

प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले आफू खेल क्षेत्रमा लामो अनुभव बोकेको व्यक्ति भएकाले वास्तविक आवश्यकताअनुसार नीति र कार्यक्रम समावेश गरिएको बताए। उनले केन्द्र सरकारले अघि नबढाएका कार्यक्रमहरू बागमती प्रदेशले ल्याएको उल्लेख गर्दै, अब बागमतीले पछाडि फर्केर हेर्नु नपर्ने गरी आधारभूत संरचना र खेलाडी उत्पादनमा गति दिइने बताए।