उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरको चौदण्डीगढी नगरपालिकामा रहेको आधारभुत नगर अस्पताललाई गत जेष्ठ ५ गते सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति दिएको थियो । आधारभुत नगर अस्पताल चौदण्डीगढीका डाक्टर अमृत कर्णका अनुसार अस्पतालमा अहिले ‘एन्टी स्नेक भेनम’ राखेर उपचार सुरु गरिएको छ ।
बर्षाको समयमा रातको समय वा दिनमै पनि स्थानीयलाई खजुरा, बिच्छी लगायतका किराको डसाई हुँदा समेत बिरामीलाई अस्पताल ल्याउने गरेका छन् । उनीहरुलाई २४ घटनासम्म बेडमा राखेर सर्पको डसाई हो वा होइन भन्ने पहिचान गरि उपचार सुरु गर्नु गर्ने चिकित्सकको भनाइ छ ।
अहिले सबै सामाग्री अस्पतालमा यथेष्ट रहेको डाक्टर कर्णले बताए । डाक्टर कर्णले सर्पको डसाई बाट बिरामीलाई निकै समस्या भएर आइसीयुमा राख्नु पर्ने अवस्था भए आइसीयु सम्म पुर्याउन आवस्यक सामाग्री समेत अहिले अस्पतालमा रहेको जानकारी दिए ।
आधारभुत नगर अस्पताल चौदण्डीगढीमा अहिले तीन जना एमबिबिएस डाक्टर र एक जना सर्पदंशका बिरामीको उपचार गर्न तालिम प्राप्त व्यक्ति रहेको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले जानकारी दिए ।
उदयपुरमा हरेक बर्ष सयौंको संख्यामा स्थानीयहरुलाई विषालु सर्पले डस्ने गरेको छ । चौदण्डीगढी आधारभूत नगर अस्पतालमा सर्पदंश उपचार केन्द्र संचालनमा आए संगै जिल्लामा सर्पदंश उपचार केन्द्रको संख्या चार पुगेको छ ।