काठमाडौं- परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा जारी द्वन्द्वका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाप्रति सरकार पूर्ण रूपमा संवेदनशील रहेको जनाएको छ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल ले मध्यपूर्वमा शान्ति सम्झौताको पालना नहुँदा द्वन्द्व लम्बिन सक्ने अवस्था देखिएको भन्दै त्यसले नेपालीको सुरक्षा, रोजगारी तथा स्वदेशमा इन्धन, निर्माण, पर्यटनलगायत आर्थिक क्षेत्रमा असर पार्न सक्ने भएकाले सरकारले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताए।
उनका अनुसार हाल मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्था सामान्य रहेको छ र अहिलेसम्म कुनै नेपाली प्रत्यक्ष रूपमा प्रभावित भएको जानकारी प्राप्त भएको छैन। उनले वार्ता र कूटनीतिमार्फत समस्या समाधान गर्नुपर्नेमा नेपालको जोड रहेको तथा ‘स्ट्रेट अफ होर्मुज’ जलमार्गको निर्बाध सञ्चालन र दिगो शान्तिका प्रयासप्रति नेपालले समर्थन जनाएको पनि बताए।
प्रवक्ता पौडेलले दक्षिणपूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्याम सेन्टरमा फसेका ८६० नेपालीको उद्धार गरिएको जानकारी दिए। उद्धार गरिएकामध्ये कम्बोडियाबाट ७३३, म्यानमारबाट ११३, लाओसबाट ८ र थाइल्यान्डबाट ६ जना रहेका छन्।
यस्तै, हाल कम्बोडियाको जेलमा ४९ नेपाली रहेको र उनीहरूलाई कानुनी सहायता उपलब्ध गराउन नेपाली दूतावासले समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले अवैध रूपमा विदेश पठाउने कार्यमा संलग्न व्यक्ति वा समूहविरुद्ध कारबाहीका लागि पीडितका परिवार तथा आफन्तलाई नेपाल प्रहरी वा सम्बन्धित निकायमा तथ्यसहित निवेदन दिन पनि आग्रह गरेको छ।



























































