– शेषराज भट्टराई


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८२/८३ को बजेट संसदमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरिरहेका बेला सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गरे “बजेट — काम खोज्ने होइन, काम दिने युवा। जेन-जी पुस्तालाई स्टार्टअप उद्योगमा तीन प्रतिशत ब्याजदरमा कर्जा।”


ADVERTISEMENT

# # #


यो स्टाटसको स्पष्ट राजनीतिक संकेत छ । प्रधानमन्त्री केपी शर्मा ओली र टिमले स्वीकार गरेको छ, अबको राजनीति पुराना संरचना र भाषाले चल्दैन र नयाँ पुस्ताको आकांक्षा, स्पीड र टेक–सेभी सोचअनुसार दिशा बदल्नैपर्छ। नेकपा एमालेको नेतृत्वलाई यो कुरा पनि प्रस्ट थाहा छ २०८४ को निर्णायक शक्ति भनेको जेन-जी हो, जसले नारा होइन, नतिजा खोज्छ।

एमालेको सबैभन्दा ठूलो वैचारिक र भावनात्मक सम्पत्ति मदन भण्डारी हुन्। जनताको मन जित्ने भाषण, संगठनात्मक क्षमता र परिवर्तनको दृष्टिकोणले उनले जनस्तरमा ऐतिहासिक प्रभाव पारेका छन। आज पनि उनका भाषणहरू युट्युबमा लाखौं पटक हेरिन्छन्। एमाले नेतृ डा. बिन्दा पाण्डेको पुस्तक ‘भुइँमान्छे’ ले जनस्तरसँग जोडिएका भूमिगत कार्यकर्तादेखि मूलधारका नेतृत्वकासम्मका संघर्ष र सम्बन्धलाई दस्तावेज बनाएको छ। पुस्तकमा मदन भण्डारीको नेतृत्वलाई जन–संपर्क, सांगठनिक अनुशासन र वैचारिक स्पष्टताको नमुना रूपमा प्रस्तुत गरिएको छ।

तर, अहिलेको राजनीतिक परिदृश्य पूर्ण रूपमा फरक भइसकेको छ। २०५० सालअघि जन्मिएको पुस्ता र त्यसपछि जन्मिएको पुस्ताबीच सोच, प्राथमिकता र राजनीतिक आस्थाको संरचनामा गहिरो भिन्नता छ। पुराना पुस्ताले विचार र प्रतिबद्धतालाई मूल्य मान्थे, अहिलेका जेन-जीले डेटा, प्रमाण र प्रभावकारिता खोज्छ।

समयले मानिस, समाज, संस्कृति र प्रविधिलाई अनिवार्य रूपमा अगाडि बढ्न बाध्य पार्छ। अब नेपाली समाजले स्विकार्नैपर्छ कि जेन-जी पुस्ता नेपाली समाजको राजनीतिक र आर्थिक ‘सेन्टर स्टेज’मा पुगेको छ। यो पुस्ताले राजनीतिक नेताहरूको मूल्यांकन भाषणको शैलीबाट होइन, उनीहरूको काम र प्रभावबाट गर्छ। कतिपयले यो पुस्तामा राजनीतिक चेतना कम भएको भन्ने न्यारेटिभ बनाउने प्रयास गर्छन्। तर जेन-जी राजनीति प्रति धेरै उदासीन छैनन् । बरु उनीहरू डिजिटल प्लेटफर्महरूमा सशक्त उपस्थिति राख्ने नेटिजनहरू हुन्। टिकटक, युट्युब, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा केही सेकेन्डमै राजनीतिक, सामाजिक नेताहरूको हाउभाउ, शैली, बोली र रणनीति तौलिन्छन् । त्यस्तै, च्याटजीपीटी, गुगल लगायतका एआई टुल्स प्रयोग गरी उनीहरू तुरुन्तै तथ्य–जाँच गर्छन्।

यो पुस्तामा अन्तर्राष्ट्रिय सीमाना ‘ब्लर’ भएको छ। उनीहरूको सोच र दृष्टिकोण मात्र नेपालमै सीमित छैन, बरु नेपाललाई विश्वस्तरमा चिनाउने र प्रभाव विस्तार गर्ने ठूलो लक्ष्य बोकेका छन्।

विश्वव्यापी प्रविधि, आर्थिक र सांस्कृतिक प्रवृत्तिहरूमा उनीहरूको सक्रिय सहभागिता छ, जसले उनीहरूको ग्लोबल एस्पिरेशन अझ बलियो बनाएको छ। विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई), क्रिएटर इकनोमी, डिजिटल नवप्रवर्तन (डिजिटल इनोभेसन), र ज्ञान आधारित अर्थतन्त्र (नलेज इकनोमी)जस्ता आधुनिक क्षेत्रहरूमा नेपाली युवा वर्गको सक्रियता उल्लेखनीय छ।

यी क्षेत्रमा जेन-जी पुस्ताले सिर्जनशीलता, प्रविधि बुझाइ, र नयाँ आर्थिक मोडेलहरूलाई आत्मसात गर्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने महत्वाकांक्षा राख्छन्। उनीहरू उपभोक्ता मात्रै होइनन्, नवप्रवर्तनकर्ता र उत्पादकको रूपमा पनि अघि बढिरहेका छन् । उनीहरू नयाँ युगका इनोभेटर हुन्।

यो पुस्ता गफ होइन, ग्यारेन्टी खोज्छ। जेन-जी पुस्ताले बुझिसकेको छ—सामाजिक मान्यता पाउन ‘ब्रान्ड भ्यालु’ केवल राम्रो इमेज मात्र होइन, समाजमा साँच्चिकै योगदान हुनुपर्छ। अबको नेता पार्टीको होस् वा समाजको, उसमा आत्मविश्वास, स्पष्टता र सान्दर्भिकता हुनैपर्छ। त्यसैले आजका युवाहरूका लागि ‘आइडल’ भाषण गर्ने नेता होइन, काम गरेर परिवर्तन ल्याउने व्यक्ति हुन्। नेपाली समाजमा जसले काम गरेको छ, त्यो जेन-जी पुस्ताको मनमा पहिलो रोजाइमा पर्छ। उदाहरणका लागि, सन्दुक रुइतले आँखामा उज्यालो फर्काए, महावीर पुनले गाउँ–गाउँमा इनोभेसन ल्याए, कुलमान घिसिङले अन्धकार हटाए, डा. भगवान कोइरालाले जीवन बचाए, पूजा महतोले मैदानमा इतिहास रचिन, र पारस खड्काले आत्मविश्वास जगाए। यिनै हुन् जेन-जीका वास्तविक नायक।

यो त अब निश्चित छ—जेन-जी पुस्ता पुराना नारामा पटक्कै बाँधिँदैन। उनीहरूलाई ‘क्रान्तिकारी भाषा’ होइन, ठोस ‘परिवर्तनको प्रमाण’ चाहिन्छ। यो पुस्ता सामाजिक न्याय, लैङ्गिक समानता, वातावरणीय दायित्व र डिजिटल स्वतन्त्रताजस्ता विषयमा गहिरो सरोकार राख्छ।

जेन-जी समावेशिताको पक्षमा स्पष्ट र ठाडो उभिन्छ। उनीहरूको सामाजिक दृष्टिकोण फराकिलो, उदार र समानताको पक्षमा छ। जात, लिङ्ग, लैङ्गिक पहिचान र अरु कुनै पनि आधारमा हुने भेदभावप्रति उनीहरूको स्पष्ट विरोध छ। एलजीबीटीक्यू समुदायसँग उनीहरू मित्रवत् र सम्मानजनक व्यवहार गर्छन्, समावेशी समाज निर्माणमा विश्वास गर्छन्।

एउटा समय थियो, जब युवाहरू राजनीतिक कार्यक्रमहरूमा केवल भीड देखाउन प्रयोग गरिन्थे। तर आजको युवा पुस्ता त्यो पुरानो ढर्रा स्वीकार्दैन।उनीहरू अब कसैको पछि लाग्ने, झण्डा बोक्ने वा नारामा स्वर मिसाउने साधन होइनन्। उनीहरू विचार बोकेर आउँछन्, असन्तुष्टि देखाउन आउँछन्, परिवर्तनको माग गर्न आउँछन्।

यो पुस्ता प्रश्न गर्छ, मूल्यको खोजी गर्छ, र आत्मनिर्णयमा विश्वास गर्छ। उनीहरूका लागि विरोधको माध्यम अब केवल सडक होइन—डिजिटल स्पेस हो।

आजका युवाहरू आफ्नो असन्तुष्टिलाई टिकटक, रिल्स, मेम्स र डिजिटल व्यंग्यमार्फत व्यक्त गर्छन्। यो पुस्ताको रिस, तर्क र चिन्ता भर्चुअल माध्यमहरूमा ट्रेन्ड बन्छ, बहसको दिशा मोड्छ र जनमत निर्माण गर्छ। एउटै सोच र मूल्यका साथीहरू संसारको जुनसुकै ठाउँमा भए पनि एउटै फोरममा भेला भएर संवाद चलाउँछन्—र यही नै उनीहरूको राजनीतिक विरोध र समर्थनको रूपमा परिणत हुन्छ।

यो पुस्ता न त मौन बस्छ, न त अन्धभक्त हुन्छ। उनीहरू चुप लाग्दैनन्, तर गुनासो गर्ने तरिका पूर्णरूपले बदलिएको छ। यस पुस्तामा विद्रोह छ, रिस छ, तर त्यो रिस चर्को नारामा होइन, सशक्त र तीव्र डिजिटल कन्टेन्टमा पोखिन्छ। टिकटकका छोटो भिडियो, रिल्स, मिम्स र सामाजिक सञ्जालका अन्य माध्यममार्फत उनीहरूले आफ्ना विचारहरू राख्छन्, आलोचना गर्छन् र परिवर्तनको माग गर्छन्। उनीहरूको आवाज केवल सडकमा नारा लगाउने मात्र होइन, डिजिटल दुनियाँमा ट्रेन्ड बनाउने, बहसको दिशा मोड्ने र जनमत निर्माण गर्ने शक्तिशाली माध्यम बनेको छ।

यदि नेपालका राजनीतिक दल साँच्चिकै यो पुस्तालाई बुझ्न चाहन्छन् भने, अब नेताहरूको पुराना ढाँचाका जार्गन भाषण र सतही संवादले काम लाग्दैन। यो पुस्ताले पुराना राजनीतिक भाषणहरूलाई ‘म्युट’ गरिसकेको छ।

अब राजनीतिक इकोसिस्टममा कुनै नेता आफ्नो अस्तित्व खोज्छ भने नेताहरूले उनीहरूलाई सुन्न र बुझ्न बाध्य हुनुपर्छ, नभए युवा पुस्ताले आफैं नयाँ प्लेटफर्म र नयाँ शैलीमा राजनीतिलाई ‘रिजेक्ट’ गर्नेछन्।

नेपालका परम्परागत र नयाँ राजनीतिक दलहरूले अहिलेको पुस्ता, जेन जीको आकांक्षा बुझ्न थालेका जस्तो देखिए पनि, व्यवहारमा अझै पुरानै ढर्रामा अडिएका छन्। राजनीतिक नेताहरू ‘बोल्न’ मात्रै खोज्छन् ‘सुन्न’ चाहँदैनन्। पार्टीका कार्यक्रमहरूमा दिइने भाषणहरूले जेन जीलाई खासै छुन सकेका छैनन्, किनभने यो पुस्ता केवल सुन्ने होइन, विश्लेषण गर्ने, प्रश्न उठाउने र विश्वका नेताहरूसँग तुलना गर्ने पुस्ता हो। सामाजिक सञ्जालमा ‘अडिट कल्चर’ बाट उनीहरूले निरन्तर नेताहरू र पार्टीहरूको मूल्यांकन गर्छन्।

जेन जीलाई अब पुराना पार्टीहरूको क्रान्तिका कथा, जेल बसाइका सम्झना, वा बुलेट पोइन्ट घोषणापत्रले आकर्षित गर्न सक्दैन। उदाहरणका लागि “पञ्चायतकालमा कति वर्ष जेल बसियो” भन्ने कथाले अब उनीहरूमा उत्सुकता जगाउँदैन। उनीहरूलाई चाहिएको हो भविष्यको स्पष्ट खाका, आजको व्यवहारिक योजना, अनि त्यो पनि भिजुअल इम्प्याक्टसहित !

नेपालमा डिजिटल मिडिया, विशेषगरी सामाजिक सञ्जालको उपभोक्ता संख्या अत्यन्तै ठूलो छ र तीव्र रूपमा बढ्दैछ। जेन–जी पुस्ता यी प्लेटफर्ममा सबैभन्दा सक्रिय छ। उनीहरू सूचना खोज्ने, विचार व्यक्त गर्ने र सामाजिक–राजनीतिक मुद्दामा आवाज उठाउनेमा डिजिटल मञ्चलाई प्राथमिकता दिन्छन्।

नेपालमा डिजिटल मिडिया, विशेषगरी सामाजिक सञ्जालको उपभोक्ता संख्या अत्यन्तै ठूलो छ र तीव्र रूपमा बढ्दैछ। जेन–जी पुस्ता यी प्लेटफर्ममा सबैभन्दा सक्रिय छ। उनीहरू सूचना खोज्ने, विचार व्यक्त गर्ने र सामाजिक–राजनीतिक मुद्दामा आवाज उठाउनेमा डिजिटल मञ्चलाई प्राथमिकता दिन्छन्।

पहिले राजनीतिक बहस र विचार विमर्श संसद र परम्परागत सञ्चार माध्यममा सीमित हुन्थ्यो। तर आजको डिजिटल युगमा फेसबुक, इन्स्टाग्राम, टिकटक, ट्विटरजस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूले राजनीतिक संवादलाई व्यापक, बहुआयामिक र गतिशील बनाएका छन्। यी प्लेटफर्महरूमा आजका युवा मात्र सूचना उपभोक्ता होइनन्, उनीहरू सक्रिय ‘ओपिनियन मेकर’ र सोशल इन्फ्लुएन्सर हुन। उनीहरूले प्रश्न उठाउने, तर्कसहित बहस गर्ने र जनमत निर्माण गर्ने प्रक्रियामा निर्णायक भूमिका खेलिरहेका छन्। यसले पारंपरिक राजनीतिक संरचना र संचार माध्यमलाई मात्र होइन, समग्र लोकतान्त्रिक प्रक्रिया र राजनीतिक संस्कृतिलाई पनि गहिरो रूपमा परिवर्तन गरेको छ।

२०७८ को तथ्याङ्कअनुसार, नेपालको १६–४० वर्ष उमेर समूहको जनसंख्या १ करोड २४ लाखभन्दा बढी छ—कुल जनसंख्याको झण्डै ४३ प्रतिशत। यही युवाशक्ति अबको राजनीतिक निर्णयकर्ता हो। २०८४ सालको आमनिर्वाचन हरेक राजनीतिक दल र नेताका लागि गम्भीर चुनौती हुनेछ। यसअघि २०१५ सालपछिका चुनावहरूभन्दा यो चुनाव धेरै फरक हुनेछ। अब यो निर्वाचनमा रणनीति र प्रविधिको वास्तविक परीक्षण हुनेछ। अबको प्रतिस्पर्धा मतदातासँगको गहिरो डिजिटल संवाद, डेटा-आधारित सन्देश र व्यक्तिगत स्तरको पहुँचमा केन्द्रित हुनेछ। राजनीतिक दल र नेताहरूका लागि अब संगठनको आकार र कार्यकर्ताको भीडले मात्र जित सुनिश्चित हुँदैन।

२०८४ को चुनाव तर्क, तथ्य, डेटा र डिजिटल बुद्धिमत्तामा आधारित हुनेछ। जेन जी पुस्ता, अर्थात् सन् १९९७ पछिको पुस्ता, अहिलेको सबैभन्दा सक्रिय डिजिटल नागरिक वर्ग हो। राजनीति, चुनावी अभियान, वार रूमदेखि लिएर सम्पूर्ण सञ्चार सामग्रीको केन्द्रमा यही पुस्ता रहनेछ।

यस यथार्थको पृष्ठभूमिमा, प्रविधिको प्रयोग अब विकल्प होइन, सफलताको पूर्वशर्त बनेको छ। कृत्रिम बौद्धिकता, बिग डाटा विश्लेषण, मेसिन लर्निङ, सामाजिक सञ्जाल ट्रेन्ड विश्लेषण, रियल टाइम कमेन्ट प्रणाली र डिजिटल सर्भेक्षणजस्ता उपकरणहरू अब चुनावी रणनीतिको केन्द्रमा रहनेछन्। जसले यी उपकरणहरूलाई प्रभावकारी रूपमा प्रयोग गर्छ, उसले जनताको प्राथमिकता, व्यवहारिक प्रवृत्ति र सरोकारहरूको गहिरो अध्ययन गर्न सक्छ।

नेपाली राजनीतिक दलहरूले प्रविधिको माध्यमबाट सामाजिक, जातीय, धार्मिक, शैक्षिक, आर्थिक, पेशागत वा भौगोलिक आधारमा जनसमूहलाई सूक्ष्म रूपमा वर्गीकृत गर्न सक्छन्। तर वर्गीकरण मात्रै पर्याप्त हुँदैन। अहिलेको आवश्यकता ती वर्गहरूको सामाजिक सन्दर्भ, जीवन–अनुभव, व्यवहारिक सोच, आकांक्षा र मनोवृत्तिको गहिरो विश्लेषण गर्न सक्ने क्षमतामा छ। जसले मतदाता मात्र हैन, चेतनशील नागरिकको मन जित्न सक्दछ।

जेन जी पुस्ताले भावनात्मक नाराभन्दा बढी तथ्यमा आधारित प्रस्तुति खोज्छ। छोटा भिडियो क्लिपहरू, इनफोग्राफिक्स, डिजिटल तथ्य परीक्षण, र ट्रेन्डिङ डिजिटल अभियानहरू जस्ता माध्यमहरूले मात्र उनीहरूको ध्यान खिच्न सक्छन्। यो पुस्ता सामाजिक सञ्जालमा सक्रिय छ, डिजिटल ट्रेन्डबाट सोच बनाउँछ र राजनीतिक डेलिभरीको मूल्यांकन पनि त्यही माध्यमबाट गर्छ। त्यसैले आजको राजनीतिक संवाद प्रमाणसहित प्रस्तुत हुनुपर्छ, नभए सन्देश ‘स्क्रोल’ हुँदै हराउनेछ।

२०८४ को निर्वाचन सामान्य प्रचारले जितिँदैन। अबको राजनीति डेटा, प्रविधि र युवा मनोविज्ञानको आधारमा चल्छ। राजनीतिक दलले गफ होइन, तथ्य हेर्नुपर्छ।

कुन क्षेत्रको युवा कुन मुद्दाले प्रभावित छ ? कुन नेताको छवि खस्किँदै छ ? कुन नीतिले असन्तोष बढाउँदै छरुयी सबै कुरा अब ‘अनुमान’ होइन, रियल टाइम डेटा र मेसिन लर्निङ ले देखाउँछ। युवाको आकांक्षा के हो ? सामाजिक न्याय चाहन्छन् या रोजगारी ? विदेशिएका युवालाई के ले छोएको छ ? कुन पार्टीलाई उनीहरूले ट्रोल गर्छन् ? कुन नेतालाई समर्थन गर्छन् ? कुन विषयमा बहस चलिरहेको छ ? यी सबै कुरा डिजिटल स्पेसमा थाहा हुन्छ—शर्त के भने, राजनीतिक दलले त्यसलाई सुन्न, बुझ्न र त्यसअनुसार प्रतिक्रिया दिन सक्नुपर्छ।।रियल टाइम डेटा अपडेट र मेसिन लर्निङ एल्गोरिदमको प्रयोगद्वारा कुन मुद्दा अझै सम्बोधन भएको छैन ?

अबको राजनीति नारामा होइन निष्कर्षमा नापिन्छ। जनसभाको तालीले होइन डेटा र व्यवहारले नेताको मूल्याङ्कन हुन्छ। विशेषतः जेन जि पुस्ताले नेतृत्वलाई अब शब्द होइन प्रमाणको आँखाबाट हेर्छ। यस्तो पुस्तासँग संवाद गर्न अब दलहरूले सामाजिक मनोविज्ञान, डिजिटल ट्रेन्ड र जनभावनाको गहिरो विश्लेषणमा आधारित रणनीति बनाउनुपर्छ।

२०८४ को आमनिर्वाचन नयाँ सोच र परम्परागत प्रतिस्पर्धाबीचको निर्णायक मोड हुनेछ। २०८४ को आमनिर्वाचनले यही सन्देश दिनेछ ‘राजनीति अब केवल चुनाव जित्ने होड होइन, जेन जीको भरोसा जित्ने निर्णायक मोड हो।’ जुन दल र नेताले यो पुस्ताको टोन, प्रविधिमा पकड, आत्मसात गर्छन्, भविष्य उसकै हुनेछ। यही हो अबको नयाँ राजनीतिक यथार्थ।

–लेखक नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष हुन् ।