काठमाडौँ – राष्ट्रियसभा सदस्यहरुले विपद् जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले बर्खा सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोजस्ता विपद्को जोखिमतर्फ ध्यानाकर्षण गराउँदै पूर्वतयारी र सतर्कता अपनाउन माग गरे ।


ADVERTISEMENT


सांसदहरु तुलसाकुमारी दाहाल, मायाप्रसाद शर्मा र शारदादेवी भट्टले विपद्को आकलनका आधारमा जोखिमयुक्त ठाउँको पहिचान गर्नुपर्नेमा जोड दिए । “अध्ययन–अनुसन्धानबिना नदीजन्य उत्खनन गर्ने, अनावश्यक पहाड भत्काउने, प्रकृतिलाई तोडफोड गर्ने कामहरु भइरहेका छन् । यसतर्फ ध्यान दिनुपर्छ”, सांसद दाहालले भनिन् । प्रकोपको जोखिम न्यूनीकरणका लागि स्थायी समाधान खोज्न पहल गर्नुपर्ने उनीहरुले सुझाव दिए ।


ADVERTISEMENT

# # #


सांसद जगप्रसाद शर्माले आन्दोलनरत यातायात व्यवसायीसँग वार्ता गरेर तत्काल सार्वजनिक यातायात सञ्चालनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । उनले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसलाई व्यावहारिक कार्यान्वयनका लागि आह्वान गर्दै यस दिन सार्वजनिक बिदाको व्यवस्था गर्न समेत माग गरे ।

सांसद सुमित्रा बिसीले यातायात व्यवसायीको आन्दोलनका कारण यात्रु ‘राइड सेयरिङ’ सेवा प्रयोग गर्दा ठगीमा परेको भन्दै अनुगमन बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।

सांसद गोपीबहादुर सार्की आछामीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले उपलब्ध गराउँदै आएको सेवासुविधा खारेजको सुझाव दिए । “दरबार हत्याकाण्डको आजसम्म छानबिन भएको छैन, छानबिन हुनुपर्छ,” उनले भने । रासस