काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले टेस्ट राष्ट्र वेष्ट इण्डिजसँग द्विपक्षीय टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ । नेपालले आगामी सेप्टेम्बरमा युएईको सारजहामा वेष्ट इण्डिजसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।


ADVERTISEMENT


क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार क्यानको आयोजनामा सारजहा क्रिकेट स्टेडियममाउक्त सिरिज गरिने भएको हो । जस अनुसार नेपालले आगामी सेप्टेम्बर २७, २८ र ३० मा सिरिज खेल्ने भएको हो ।


ADVERTISEMENT

# # #


सन् २०१२ र २०१६ गरी दुई पटकको टी–२० विश्वकप विजेता आईसीसीको टी–२० विश्व वरियतामा पाँचौँ स्थानमा रहेको वेष्ट इण्डिज सँग १८औँ स्थानमा रहेको नेपाल पहिलो पटक सिरिज खेल्ने भएको छ । टी–२० विश्वकप विजेता टोलीसँग पहिलो पटक सिरिज खेल्नु नेपाली क्रिकेटका लागि महत्वपूर्ण र ऐतिहासिक रहने प्रवक्ता लामाले जनाएका छन् । साथै उनले सिरिजका लागि सहयोग गरेको भन्दै वेष्ट इण्डिज क्रिकेट बोर्डलाई समेत धन्यवाद व्यक्त गरेका छन् ।

यता नेपालसँगको सिरिजलाई वेष्ट इण्डिज क्रिकेट बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्रिस डेहरिङले क्रिकेटलाई विश्वस्तरमा फैलाउने महत्वपूर्ण पाइलाका रुपमा अर्थ्याएका छन् । ‘यो शृङ्खला केवल अन्तर्राष्ट्रिय खेलहरूको सेट मात्र होइन, यो खेलको विस्तारित विश्वव्यापी पदचिह्नको उत्सव हो र क्रिकेटले गौरव, उद्देश्य र एकताको शक्तिको कसरी प्रतिनिधित्व गर्छ भन्ने प्रमाण हो ।’ उनले भनेका छन्, ‘आईसीसीको पूर्ण-सदस्य राष्ट्रको रूपमा हामी यसलाई हाम्रो सीमाभन्दा बाहिरको क्रिकेटको विकासका लागि योगदान पुर्‍याउने जिम्मेवारीको एक पाटोको रूपमा हेरेका छौँ ।’

उनले अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो रोमाञ्चक महत्वपूर्ण यात्रा सुरु गरिरहेको समयमा नेपालको साथमा उभिन पाउँदा गौरभान्वित भएको बताएका छन् । साथै उनले सारजहाँमा खेल प्रतिस्पर्धी हुने समेत अपेक्षा गरेका छन् ।

नेपालमा टेस्ट राष्ट्रियको पूर्ण टोलीलाई खेलाउने सुविधासम्पन्न रंगशाला नभएको र विश्वकप छनोटको लागि ओमानसँगको मिल्दोजुल्दो वातावरण हुने भएकाले सारजहालाई रोजिएको हो । नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग सिरिज खेल्ने लागेको हो । नेपालले यस सिरिजलाई आगामी अक्टोबरदेखि ओमानमा हुने आईसीसी टी–२० विश्वकपको एशिया क्षेत्र फाइनल छनोटको तयारीका रुपमा लिनेछ ।

विश्वकप छनोट अभियान अघि नेपाललाई महत्वपूर्ण अनुभव प्रदान गर्न बलियो टोली पठाउने वेष्ट इण्डिज क्रिकेट बोर्डले जनाएको छ । यसअघि नेपालले वेष्ट इण्डिजको ‘ए’ टोलीसँग सिरिज भने खेलिसकेको छ ।