काठमाडौं–बासेलसँग आफ्नै घरेलु मैदान पराजित भएपछि म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो टोलीले आक्रमण गर्नै बिर्सिएको प्रतिक्रिया दिएका छन् । सन् २०१६ पछि घरेलु मैदानमा १–२ को हारका बावजुद समग्रमा ५–२ को जीतसहित सिटीले अन्तिम आठ मा आफ्नो स्थान बनाएको हो ।


ADVERTISEMENT


पहिलो लेगमा बासेलको घरेलु मैदानमा ४–० को जीत हासिल गरेको सिटीले दोस्रो लेगमा पहिलो रोजाइँका आफ्ना धेरै खेलाडीलाई आराम दिएको थियो । यसका बावजुद बर्नान्डो सिल्भाको पासमा गोल गर्दै ग्याब्रियल जिससले खेलको शुरुवात नै सिटीलाई अग्रता दिलाए ।


ADVERTISEMENT

# # #


तर, मोहम इल्योनोसीले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफमा उनैले माइकल लाङका लागि गोलको अवसर सृजना गर्दै सिटीलाई स्तब्ध बनाए । पहिलो हाफमा खेलमा नियन्त्रण बनाएको सिटीले दोस्रो हाफमा भने राम्रो प्रदर्शन गर्न सकेन ।

हारका बावजुद सिटीले ९७८ वटा पास पूरा गर्दै च्याम्पियन्स लिगमा नयाँ किर्तिमान बनाएको छ । तर, यसबारे ग्वार्डिओला भने त्यति खुसी देखिएनन् । उनले भने, ‘केही न केहीका लागि बल पास गरेर मात्र हुँदैन ।’
‘पहिलो हाफ हामीले राम्रो खेल्यौँ तर दोस्रो हाफमा हामीले आक्रमण गर्नै भुल्यौँ । हामीले विपक्षीको पोष्टमा आक्रमण गर्न पास गर्ने हो । दोस्रो हाफ निकै कमजोर थियौँ,’ उनले भने ।

यद्यपि, उनले अर्को चरणमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा सिटी पुगेको यो मात्र दोस्रो अवसर हो । यसअघि सन् २०१५–१६ मा सेमिफाइनल पुगेको सिटी रियल म्याड्रिडसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।