काठमाडौँ – संघीय संसद अन्तर्गतको पूर्वाधार विकास समितिले ललितपुरको ग्वार्को स्थित फ्लाइ ओभर निर्माणका सन्दर्भमा सरोकारवालासंग छलफल गर्ने भएको छ ।


ADVERTISEMENT


बुधबार समितिले फ्लाइ ओभरको स्थलगत अनुगमन गर्दै सरोकारवालासंग छलफल गर्ने निर्णय गरेको हो । यही शुक्रबार उद्घाटन गर्ने तयारी गरिएको ग्वार्को स्थित फ्लाइ ओभरको निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भएको छ ।


ADVERTISEMENT

# # #


अहिले फ्लाइ ओभरमा रंगरोगन गर्ने र डिभाइडर राख्ने काम भइरहेको छ । फ्लाइ ओभर निर्माणका क्रममा सडक बत्ती, नागरिकको सुुरक्षा, सिसिक्यामरा लगायतलाई ध्यान दिएको नपाइएको समिति सदस्यहरुले जनाएका छन् ।

समिति सभापति दीपक बहादुर सिंहले ग्वार्को स्थित फ्लाइ ओभर निर्माणका क्रममा भएका कमी कमजोरी सुधार गर्दै काठमाडौंका अन्य स्थानमा पनि फ्लाइ ओभर बनाउन सरकारलाई निर्देशन दिने बताए । करिब डेड वर्ष ढिलाई भए पनि फ्लाइ ओभर राम्रो बनेको पाइएको उनले बताए ।

सो क्रममा माओवादी सांसद माधव सापकोटाले निर्माणको सुरुमा केही जटिलता देखिए पनि अहिले समग्रमा ग्वार्कोस्थित फ्लाइ ओभर सम्पन्न भएको पाइएको उल्लेख गरे । फ्लाइ ओभर निर्माणका क्रममा देखिएको कमी कमजोरीलाई सुधार गर्न सरोकारवालासंग छलफल गर्दै आवश्यक निर्देशन दिने उनको भनाई छ ।

सडक विभागले इपिसी मोडलमा फ्लाइओभर निर्माण गर्ने गरी २०७८ माघमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग ठेक्का सम्झौता गरेको थियो । समयमा नै निर्माण सम्पन्न नभएपछि पटक–पटक थप गरेर दिएको अन्तिम म्याद गत पुष ८ गते नै सकिसकेको थियो । म्याद सकिएपछि निर्माण कम्पनीले निरन्तर काम गर्दे फ्लाइ ओभरलाई अन्तिम चरणमा पुर्याएको हो ।