काठमाडौं — रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीकी सांसद सुमना श्रेष्ठमाथि लागेको ‘नक्कली पीडित खडा गरेर गृहमन्त्रीविरुद्ध उजुरी दिलाएको’ भन्ने आरोपको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। पार्टीले प्रकरणलाई गम्भीरतापूर्वक लिँदै सत्यतथ्य बाहिर ल्याउने उद्देश्यले छानबिन अघि बढाएको जनाएको छ।


ADVERTISEMENT


पार्टीको आजबसेको सचिवालय बैठकले प्रा. डा. चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्व एसएसपी लव विष्ट सदस्य रहेका छन्।


ADVERTISEMENT

# # #


बैठकपछि प्रवक्ता झाले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ, “सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिइएको भन्ने भ्रामक समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।” विज्ञप्तिमा थप भनिएको छ, “पार्टीले यस घटनालाई गृहमन्त्रीद्वारा संसदको रोष्ट्रमबाट पीडितलाई दिइएको धम्कीको नियोजित शृङ्खलाको एक हिस्सा मानेको छ।”

गृहमन्त्री रमेश लेखकले रोष्ट्रमबाट बोलेका आफूविरुद्ध नक्कली पीडित तयार गरेर उजुरी गर्न लगाउने कार्य भएको र त्यसमा संलग्नहरूलाई कानुनी कारबाही गरिने चेतावनी दिएका थिए।

यही सन्दर्भमा सांसद सुमना श्रेष्ठको नाम जोडिँदै आएकोमा रास्वपाले आधिकारिक रूपमा यस्तो आरोपप्रति असहमति जनाएको छ। तथापि, पार्टीका कुनै सदस्य संलग्न छन् वा छैनन् भन्ने कुरामा स्पष्टता ल्याउन समिति गठन गरिएको रास्वपाको भनाइ छ।

बैठकमा पार्टी सभापति रवि लामिछानेमाथि लगाइएको ‘झूट्टा र प्रतिशोधपूर्ण’ मुद्दाको वर्तमान अवस्थाबारे पनि छलफल गरिएको थियो। साथै भिजिट भिसा काण्डमा पार्टीले संसदमा खेलेको भूमिकालाई प्रभावकारी ठहर गर्दै थप सशक्त रूपमा अगाडि बढ्न संसदीय दललाई निर्देशन दिने निर्णय पनि गरिएको छ।