काठमाडौं — काठमाडौं उपत्यकाको अत्यन्त व्यस्त सडक खण्ड चक्रपथ अन्तर्गत ललितपुरको ग्वार्को चोकमा निर्माण गरिएको ओभरपास (फ्लाईओभर) आजबाट सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा उक्त फ्लाईओभर उद्घाटन गरेका हुन्।
सातदोबाटो–कोटेश्वर सडक खण्ड र मंगलबजार–इमाडोल–लुभू क्षेत्रमा हुने अत्यधिक सवारी चाप व्यवस्थापन गर्न ग्वार्कोमा फ्लाईओभर निर्माण गरिएको हो। अब चक्रपथ हुँदै जाने सवारी साधनहरू फ्लाईओभरमाथिबाट अवरोधरहित रूपमा गुड्न सक्नेछन्। मंगलबजारदेखि इमाडोल वा इमाडोलबाट मंगलबजारतर्फ जाने गाडीहरू भने फ्लाईओभरको तल्लो भाग अर्थात् पुलमुनिबाट सञ्चालन हुनेछन्।
ग्वार्को ओभरपास परियोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले अगाडि बढाएको हो। २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सम्पन्न गर्ने शर्तमा ठेक्का सम्झौता भएको थियो। तर, समयमै काम नसकिएपछि परियोजनाको म्याद दुईपटक थपियो र अन्ततः २०८१ पुस ८ गते काम सम्पन्न भएको हो।
निर्माणका क्रममा विभिन्न प्राविधिक समस्या देखा परे। सातदोबाटोतर्फको भागमा जगको माटो असमान रूपमा थिचिएको हुँदा थप समय लागेको केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले जानकारी दिए। साथै, गत पुस र माघ महिनामा निर्माण कार्य करीब एक महिना रोकिनु परेपछि समयमै सक्ने लक्ष्य प्रभावित भएको हो।
परियोजना ढिलो गरेबापत ठेकेदार कम्पनीलाई करिब एक करोड ४७ लाख रुपैयाँ हर्जाना तिराइएको छ। सुरुमा करिब १७ करोड ६ लाख रुपैयाँ लागतमा सम्पन्न हुने भनिएको यो आयोजना अन्ततः करिब ३१ करोड ४६ लाख ५१ हजार रुपैयाँ लागतमा सम्पन्न भएको हो। लागतमा करिब १४ करोड रुपैयाँ थपिएको केन्द्रले जनाएको छ।
ग्वार्को ओभरपासको कुल लम्बाइ ५७६.२ मिटर रहेको छ। जसमा ग्वार्को चोकबाट लगनखेलतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटर लम्बाइको र्याम्प तथा ३६।२ मिटरको मुख्य पुल खण्ड समावेश छन्। ओभरपासको चौडाइ १६.४ मिटर रहेको छ, जसमा चार लेन सवारी सञ्चालन हुने गरी डिजाइन गरिएको हो।
निर्माण सम्पन्न भएसँगै यो ओभरपासले चक्रपथको व्यस्त ट्राफिक व्यवस्थापनमा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ। निर्माण कम्पनीले काम सम्पन्न गरेपछि पाँच वर्षसम्म निर्माण गुणस्तर र दस वर्षसम्म डिजाइनमा देखिने त्रुटिको जिम्मेवारी लिने प्रावधान राखिएको छ।