काठमाडौँ– स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरवन्दी कायम गर्नुपर्ने माग राख्दै नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।
स्वास्थ्य मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणमा अस्पताल व्यवस्थापक पदलाई समावेश नगरेको भन्दै संघले आइतबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो ।
ओ एन्ड एम गर्दा अस्पताल व्यवस्थापन अधिकृत सातौं र नवौं तह लगाएतका पदलाई बेवास्ता गरि डाक्टर र नर्सहरुको मात्रै डाटा निकालेर सर्वेक्षण हुनु आपत्तिजनक रहेको संघका अध्यक्ष महेन्द्र राज भुसालले बताए ।
उनले सरकारी अस्पताललाई चुस्त दुरुस्तराख्दै राम्रो व्यवस्थापन गर्नका लागि स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरवन्दी कायम गर्नुपर्ने माग राखे ।
प्रदर्शनका सहभागीहरुले स्वास्थ्य सेवा व्यवस्थापकको लोक सेवामा स्थायी दरवन्दी सिर्जना गर, स्वास्थ्य सेवा व्यवस्थापक विशुद्ध अस्पताल प्रशासनको मुहार परिवर्तक, ओ एन्ड एम सर्वेमा स्वास्थ्य सेवा व्यवस्थापकको दरवन्दी कायम गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
अस्पताल सञ्चालन निर्देशिकाअनुसार ५० सैय्याभन्दा माथिका अस्पतालमा अस्पताल व्यवस्थापक अनिवार्य रूपमा राख्नुपर्ने प्रावधानसमेत रहेको संघले जनाएको छ ।