काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिबाट पारित भएका विधेयकमाथि छेडखानी नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा प्रचण्डले संसदीय समितिबाट सर्वसम्मत पारित भएका महत्वपूर्ण विधेयक त्यतिकै टारिने त होइन भन्ने चिन्ता लाग्ने गरेको र सरकारको पनि ध्यानाकर्षण गराएको बताए ।
प्रचण्डले विधेयकहरुमाथि छेडखानी गर्दा संघीयता कार्यान्वयनमा नै असर पर्ने भएकाले समिति पनि यस विषयमा गम्भीर हुनुपर्ने उल्लेख गरे । उनले समितिबाट पारित भएका विधेयकहरुलाई समयमा नै सदनबाट पारित गर्न सवैको ध्यान जानुपर्ने धारणा राखे ।
प्रचण्डले संविधानको मूल मर्म र भावना अनुसार ऐन कानुन बनाउने र त्यसलाई इमान्दारिताका साथ कार्यान्वयन गर्दै जनतालाई विकास र शान्ति सुरक्षाको प्रत्याभूत दिलाउन जोड दिनुपर्ने बताए ।
नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफलका क्रममा प्रचण्डले अधिकतम परिमार्जनसहित पारित गर्नेतर्फ सबैको ध्यान जाने विश्वास व्यक्त गरे ।