काठमाडौँ – आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा आएको छ ।
बुधवार काठमाण्डौमा आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगको उदघाटन गर्दै सो उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनहरु सार्वजनिक गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योगको स्थापना हुनु नेपालको औद्योगिक विकासतर्फको महत्त्वपूर्ण पाइला रहेको बताए ।
मन्त्री भण्डारीले यो उद्योगले केवल आयात प्रतिस्थापन मात्र होइन, निर्माण क्षेत्रलाई दिगो विकासको बाटोमा डो¥याउने भएकाले सरकारले उत्पादनमुखी लगानीलाई सधैं प्रोत्साहन दिने उल्लेख गरे । उनले संस्थानका रुपमा रहेका रुग्न उद्योगहरुलाई पनि एक बर्षभित्र सञ्चालनका लागि निजि क्षेत्रलाई दिन तयार रहेको बताए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोतको प्रयोग गरी निर्माण क्षेत्रमा योगदान पु¥याउने गरी नयाँ उद्योग स्थापना गरेको बताए । यसले देशभित्र रोजगारी सिर्जना गर्ने र नेपालमै उत्पादन हुने भएकाले आयात प्रतिस्थापन भई ठुलो मात्रामा विदेशी मुद्रा बाहिरिनबाट जोगिँदा आत्मनिर्भर अर्थतन्त्रतर्फको मार्ग प्रशस्त गर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।
स्वदेशी सीप, स्थानीय स्रोत र सम्भावनामार्फत नेपालभित्रै अन्तर्राष्ट्रिय स्तरका निर्माण सामग्रीको उत्पादन सम्भव भएको सन्देश यस उद्योगले दिएको पनि अध्यक्ष ढकालको भनाइ छ । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मा अवस्थित उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्रइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित रहेको आइएमई ग्रुपले जनाएको छ ।