काठमाडौँ – राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार नेपालको अर्थ र कूटनीतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका अर्थविद् एवम् कूटनीतिज्ञ डा भेषबहादुर थापालाई प्रदान गरिने भएको छ ।
राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानका अध्यक्ष पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा आज बसेको बैठकले यसवर्षको राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार डा थापालाई प्रदान गर्ने निर्णय गरेको हो ।
नगद रु एक लाख राशिको उक्त पुरस्कार राष्ट्रिय विभूति भीमसेन थापाको २५१औँ जन्मजयन्तीको अवसर पारेर आगामी साउन ९ गते प्रदान गरिने प्रतिष्ठानका महासचिव लक्ष्मण थापाले राससलाई जानकारी दिए । विगत तीन दशकदेखि उक्त प्रतिष्ठानले इतिहासलगायतका क्षेत्रमा उल्लेखनीय योगदान दिने संस्था तथा व्यक्तिलाई पुरस्कृत तथा सम्मानित गर्दै आएको छ ।
गतवर्ष उक्त पुरस्कार मृगेन्द्र सम्झना चिकित्सा गुठीलाई प्रदान गरिएको थियो ।