इलाम(रासस)–सञ्चारकर्मीमाथि हातपात गर्ने तीन जनालाई इलाम प्रहरीले पक्राउ गरेको छ । इलामको चियाबारी एफएममा कार्यरत दुई सञ्चारकर्मीमाथि कुटपिट र लुटपाट गर्ने तीनजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेमा इलाम नगरपालिका–९ का १९ वर्षीय रवीन मगर, इलाम नगरपालिका–६ का २२ वर्षीय मनोज मगर र एकतप्पा घर भएका १८ वर्षीय किशोर लिम्बू रहेका छन् । उनीहरुलाई प्रहरीले इलाम नगरपालिका–९ को जंगलमा भाग्दै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।


ADVERTISEMENT

# # #


घटनामा संलग्न एकजना भागेको प्रहरीले जनाएको छ । चियाबारी एफएमका बजार व्यवस्थापक कृष्ण पाठक र प्राविधिक प्रकाश न्यौपानेलाई बुधबार राति रेडियोबाट घर फर्कने क्रममा गोलबस्तीको पोखरी स्कूल छेउमा उनीहरुले कुटपिट गरेका थिए ।

कुटपिट गर्दै उक्त समूहले व्यवस्थापक पाठकसँग रहेको नगद ४५ हजार, र एक थान मोबाइल लुटेको रेडियोका स्टेशन मेनेजर प्रेम अधिकारीले जानकारी दिए ।

आक्रमण भएपछि न्यौपाने भाग्न सफल भएपनि पाठकलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिटबाट पाठकको दाहिने हात, टाउको र खुट्टामा चोट लागेको छ । पाठकको झापाको बिर्तासीटी अस्पतालमा उपचार भइरहेको छ ।