काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अष्ट्रेलियामा टप एन्ड टी–२० सिरिज खेल्ने भएको छ । अष्ट्रेलियाको नर्दर्न टेरिटोरी (एनटी) क्रिकेटले अगस्ट १४–२४ सम्म डार्विनमा आयोजना गर्ने उक्त सिरिजमा नेपालले सहभागिता जनाउने भएको हो ।


ADVERTISEMENT


टप एन्ड टी–२० शृङ्खलामा अष्ट्रेलियाका स्थानीय टोलीसहित चार अन्तर्राष्ट्रिय टोलीहरू सहभागी हुँदैछन् । जसका लागि नेपाल पहिलो अन्तर्राष्ट्रिय टोलीका रुपमा घोषणा गरिएको हो । आगामी अक्टोर पहिलो साता ओमानमा हुने आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोट प्रतियोगिताको तयारीका रुपमा नेपालले उक्त सिरिज खेल्नेछ ।


ADVERTISEMENT

# # #


जसका लागि नेपाली टोली अगस्टको पहिलो सातामै डार्विन पुग्नेछ । जहाँ नेपालले कम्तिमा ६ वटा टी–२० खेल खेल्नेछ । नेपाली टोलीले अष्ट्रेलियाको उत्तरी क्षेत्रमा रहेका नेपाली समुदायहरुको समर्थन पाउने आयोजकले अपेक्षा गरेको छ ।

नेपालको भ्रमणबारे एनटी क्रिकेटका प्रमुख कार्यकारी अधिकृत ग्याविन डोभेले नेपाली टोलीको सहभासगतालाई लिएर उत्साहित भएको बताएका छन् ।

उनले भनेका छन्, ‘नेपालले आफ्नो देश र नेपाली डायस्पोरामा कट्टर समर्थकहरू विकास गरेको छ, त्यसैले हामी खुसी छौं कि सबै नेपालीहरूको नजर उत्तरी क्षेत्रमाथि हुनेछ किनकि हामीले उनीहरूको क्रिकेट यात्रामा भूमिका खेल्नेछौँ।’

यस्तै नेपाली टोलीको भ्रमणबारे क्यानका सचिव पारस खड्काले सिरिजमा भाग लिन उत्साहित र तत्पर रहेको बताए । उनले उक्त सिरिजले टी–२० विश्वकप छनोट अघि बलियो नेपाली टोलीलाई उत्कृष्ट तयारीको बहुमूल्य अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।

२०२५ को पूर्ण टप एन्ड टी–२० शृङ्खला तालिका र सहभागी सबै टोलीहरू आगामी हप्ताहरूमा घोषणा गरिने आयोजकले जनाएको छ । यसअघिका सिरजमा पाकिस्तान र बंगलादेशका ए टोलीले सहभागिता जनाइसकेका छन् । यस्तै अष्ट्रेलियाको प्रतिष्ठित बिगबास लिग (बीबीएल)का फ्रेन्चाइज्ड टोलीका एकेटेमीले समेत प्रतिस्पर्धा गरेका छन् ।