काठमाडौँ– २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव देशभर धान रोपाई गर्दै मनाइएको छ ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता भन्न नाराका साथ सरकारले ललितपुरको खुमलटारमा धान दिवस मूल समारोह आयोजना गरेको थियो ।
समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले धानबालीको प्रवद्र्धन गर्न मन्त्रालयले उच्च प्राथमिकता दिएको बताए । कृषि विकास रणनीति, आवधिक योजना र अन्य नीतिहरूमा पनि धानमा आत्मनिर्भरताका लागि प्राथमिकता दिइएको उनले बताए । मन्त्री अधिकारीले दुई वर्षभित्र धानमा आत्मनिर्भर हुने सरकारको योजनालाई सफल बनाइने दाबी गरे ।
यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । चालू आर्थिक बर्षमा बर्षे र चैतै दुवै गरि कूल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती भइ कूल ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन उत्पादन भएको कृषि मन्त्रालयले जनाएको छ । मुलुकका लागि आवश्यक पर्ने करिव ७० लाख मेट्रिक टन धान मध्ये करिव १० लाख मेट्रिक टन धान उत्पादन अपुगे रहेको छ ।
जसका कारण चालू आर्थिक बर्षको जेठ मसान्तसम्म धान, धानको बीउ, चामल र कनिका गरि कूल ७ लाख ५३ हजार मेट्रिक टन धानजन्य बस्तु आयात भएको मन्त्रालयले जानकारी दिएको छ ।