काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबारबाट सुरु भएको छ ।
पार्टी कार्यालय सानेपामा सुरु बैठकमा विभिन्न १३ वटा एजेन्डामा छलफल भएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । बैठकमा १०० दिने अभियानका प्रतिवेदनहरू, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत हुने उनले बताए ।
त्यस्तै अनुशासन समितिको प्रतिवेदन, नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धमा समेत छलफल हुने उनले बताए । प्रवक्ता महतले भ्रातृसंस्थाबारे निर्देशक समितिको धारणा आएपछि बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए ।
त्यस्तै क्रियाशिल सदस्य नवीकरणका विषयमा महामन्त्रीले बैठकमा जानकारी गराएका थिए । त्यस्तै संसद र सरकारमा पार्टीको भूमिका प्रभावकारिताका बारेमा मन्त्रीहरुको प्रतिवेदन आएपछि सदस्यहरुले धारणा राख्ने प्रवक्ता महतले बताए । बैठक केही दिन चल्ने उनले बताए ।