काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेन काउन्सिल (आईसीसी)ले आगामी वर्ष भारतमा हुने टी–२० पुरुष विश्वकपका लागि पूर्वी एशिया प्यासिफिक र एशिया क्षेत्र छनोटको तालिका सार्वजनिक गरेको छ । आईसीसीले ओमानमा हुने एशिया क्षेत्र फाइनल छनोट प्रतियोगिताको समूह विभाजन र खेल तालिका सार्वजनिक गरेको हो ।
कूल ९ राष्ट्र सहभागी हुने छनोट प्रतियोगिता ओमानको मस्कटमा आगामी ८–१७ अक्टोबरमा हुनेछ । जसका लागि ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ र नेपाल समूह ‘बी’ मा परेको छ । जहाँ जापान र कुवेत रहेका छन् । यस्तै समूह ‘ए’मा मलेसिया, कतार र युएई रहेका छन् भने समूह ‘सी’मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन् ।
कसरी पुग्नेछ नेपाल विश्वकपमा ?
अघिल्लो पटक एशिया क्षेत्र र पूर्वी एशिया प्यासिफिक क्षेत्रका लागि छुट्टाछुट्टै छनोट प्रतियोगिता गर्दै आएको आईसीसीले यसपटक दुवै क्षेत्रलाई एउटै प्रतियोगितामा समेटेको छ । यस पटक ३ वटा कोटा राखेर एशिया र पूर्वी एशिया प्यासिफिक क्षेत्र नाम दिएर प्रतियोगिता हुँदैछ ।
छनोटको प्रत्येक समूहमा ३–३ टोली राखिएको छनोट प्रतियोगितामा समूह चरणमा नेपालले आफ्नो समूहका जापान र कुवेतसँग १–१ खेल खेल्नेछ । प्रत्येक समूहका उत्कृष्ट दुई टोली सुपर सिक्समा पुग्नेछन् ।
सुपर सिक्समा प्रत्येक टोलीले अन्य समूहबाट सुपरसिक्समा पुगेका टोलीसँग खेल्नेछन् भने आफ्नै समूहबाट सुपर सिक्समा पुगेको टोलीसँग खेल हुनेछैन । किनकी उक्त टोलीसँग समूह चरणमा भएको खेलको नतिजा र अंक लिएर सुपरसिक्समा पुग्नेछन् । आयोजक ओमानसहित नेपाल, युएई र पपुवा न्यूगिनीलाई प्रमुख दाबेदारका रुपमा हेरिएको छ । यद्दपि कतार, कुवेत र मलेसियाले यी टोलीलाई कडा टक्कर दिने पक्का छ ।
सुपर सिक्सका शीर्ष ३ टोली आगामी विश्वकपमा स्थान बनाउनेछन् । लगातार दोस्रो पटक विश्वकपमा पुग्ने लक्ष्य राखेको नेपाल समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सुपर सिक्समा पुग्ने र सुपर सिक्समा लक्ष्य राखेको छ ।
त्यसको तयारी लागि नेपालले आगामी अगस्टमा अष्ट्रेलियामा टप एन्ड सिरिज खेल्दैछ भने सेप्टेम्बरमा युएईमा टेस्ट राष्ट्र वेष्ट इण्डिजसँग ऐतिहासिक टी–२० सिरिज खेल्दैछ ।
नेपालको समूह चरणको खेल तालिका
८ अक्टोबर : नेपाल विरुद्ध कुवेत
१० अक्टोबर : नेपालविरुद्ध जापान
सुपर सिक्सको तालिका भने नेपालले समूह चरणमा गर्ने प्रदर्शनमा आधारित हुनेछ । जुन १२ अक्टोबरदेखि १७ अक्टोबरसम्म हुनेछ ।