काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा कसैले पनि राजनीति नगर्न आग्रह गरेका छन् ।


ADVERTISEMENT


बिहीबार ललितपुरमा राष्ट्रिय खेलकुद परिषद्ले अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा निर्माण गरेको नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारमा राजनीतिक दलका नेताहरुको प्रतिनिधि हुने भएपनि खेलकुद क्षेत्रमा भने कसैले पनि राजनीति गर्न नहुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


खेल क्षेत्रमा आएका व्यक्तिहरुले राजनीति गर्न नभइ खेल क्षेत्रको विकास गर्न ध्यान दिनुपर्ने उनले बताए । ‘खेलको विकास गर्ने हो भने खेलमा लगानी गर्नुपर्छ । खेललाई अघि बढाउनुपर्छ । त्यहाँ राजनीति गर्ने होइन ।’ उनले भने, ‘खेलमा राजनीतिको कुनै स्थान हुँदैन । जो आउँछ, उसले राजनीति गर्ने होइन, खेलको विकास । गर्ने हो ।’

प्रधानमन्त्री ओलीले नेपाल प्रिमियर लिगको तयारी गर्न समेत निर्देशन दिए । नेपाल प्रिमियर लिग राष्ट्रको गौरवको विषय भएकाले यसलाई अघि बढाउन खेलकुद मन्त्रालय, राखेप र क्यान सबैको ध्यान जानुपर्ने उनले बताए ।  ‘एनपीएल तपाईंहरुले आयोजना गर्नुपर्छ । त्यसको तयारी गर्नुस् । त्यो खेलिनुपर्छ, त्यो गौरवको विषय हो ।’ उनले भने, ‘एनपीएल अघि बढाउने कुरामा मन्त्रालय, परिषद् र क्यानको ध्यान जाओस् ।’

यसअघि एनपीएलको पहिलो संस्करणमा आर्थिक पारदर्शीता कायम नगरेको र सार्वजनिक खरिद ऐन मिचेको आरोपमा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा छानबिन गर्न कार्यदल बनाएको थियो । उक्त कार्यदलले एनपीएलको दोस्रो संस्करणको तयारीका लागि भइरहेका काम रोक्न नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र काटेपछि अन्योलता सिर्जना भएको थियो ।

त्यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रिय खेलकुद पटक–पटक स्थगित गरिनु लज्जाको विषय भएको भन्दै अब २०८२ मंसिरमा जसरी पनि राष्ट्रिय खेलकुद आयोजना गर्न निर्देशन दिए । उनले भक्तपुर र झापामा ५० हजार दर्शक अट्ने रंगशाला बनाइने र कीर्तिपुर रंगशालाको पनि विभिन्न फेजमा विस्तार गर्ने जिकिर गरे ।

उनले भने, ‘१५ हजारले हेर्न रंगशाला होइन, कम्तीमा ५० हजारले हेर्ने रंगशालामा भन्दा सानो अब हुँदैन ।’ प्रधानमन्त्री ओलीले वर्तमान सरकार खेल क्षेत्रको विकासका लागि गम्भीर रहेकाले आगामी वर्षका लागि यस क्षेत्रको बजेट दोब्बर बनाइएको बताए ।

राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि सातदोवाटोमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याब निर्माण गरेको हो । एकैपटक सय भन्दा खेलाडीले प्रशिक्षण गर्नसक्ने गरि ल्याब निर्माण गरिएको राखेपले जनाएको छ ।