काठमाडौँ– नेपाली कांग्रेसले रुपन्देही ३ को उपनिर्वाचनको वस्तुस्थितिबारे छलफल गरेको छ ।
पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शुक्रबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा रुपन्देही ३ को उपनिर्वाचनको अवस्थाकाबारेमा गहन रुपमा छलफल भएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
गएको निर्वाचनमा पनि समानुपातिक मतका हिसाबले कांग्रेस पहिलो पार्टी भएपछि अहिलेको अवस्था बिश्लेषण गर्न गाह्रो रहेको उनले बताए । उनले रुपन्देही ३ को उपनिर्वाचन उम्मेद्वार चयन र गठबन्धनको सम्भावनाका बारेमा कुनै छलफल नभएको जानकारी दिए ।
त्यस्तै बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयक, भूमिसम्बन्धी विधेयकका साथै निजामति विधेयकका सन्दर्भमा समेत छलफल भएको थियो । संवैधानिक परिषद् सम्बन्धी विधेयकका सन्दर्भमा विस्तृत रुपमा छुट्टै छलफल गर्ने उनले बताए ।
निजामती विधेयकमा रहेको कुलिङ अफ पिरियडमा एमाले सांसदहरुले राखेको संशोधन सांसदले स्वतन्त्रता प्रयोग गरेको रुपमा रहेको एमालेले जानकारी गराएको घिमिरेले उल्लेख गरे ।
बैठकमा केहि नेताहरुले कुलिङ पिरियडको प्रावधान हटाउन एमाले सांसदहरुले राखेको संशोधन प्रस्ताव आपत्ति जनाएका थिए । मन्त्रीहरुको हेरफेरका बारेमा बैठकमा कुनै छलफल नभएको घिमिरेले जनाए ।































































