काठमाडौँ– बागमती प्रदेशमा कांग्रेसभित्रको आन्तरिक कलहले चुलिँदै गएपछि सभापति शेरबहादुर देउवा असन्तुष्ट देखिएका छन्।
मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेका गतिविधिप्रति निरन्तर असहमति जनाउँदै आएका देउवा र अन्य नेताहरू अहिले नेतृत्व फेरबदलको तयारीमा जुटेका छन्।
आज हेटौँडामा कांग्रेस प्रदेश समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ, जसमा संसदीय दलको नेताविहीन बहस अन्ततः मतदानमार्फत टुंगो लगाउने तयारी छ। देउवाका निकट केन्द्रीय प्रतिनिधि राजन केसी हेटौँडा पुगिसकेका छन्। सहमति नभएमा मुख्यमन्त्री लामाको नेतृत्वमा परिवर्तन निश्चितजस्तै देखिएको छ।
मुख्यमन्त्री लामाको व्यवहारले पार्टी सभापति देउवासमेत चिढिनु परेको नेताहरू बताउँछन्। पार्टी उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको समूहले लामालाई हटाएर इन्द्र बानियालाई ल्याउने रणनीति अघि बढाएपछि यो प्रक्रिया तीव्र भएको हो। यसमा गगन थापा पक्षको पनि समर्थन रहेको चर्चा छ। तर, अर्कातिर शेखर कोइराला र कृष्ण सिटौलाले लामालाई बचाउने प्रयास गरिरहेका छन्।
लामालाई अघिल्लो निर्वाचनमा इन्द्र बानियालाई हराएर संसदीय दलको नेता बनाउन देउवाकै सहयोग निर्णायक बनेको थियो। तर अहिले उनी देउवाको ‘गुड लिस्ट’ बाट हटिसकेका छन्। यसमा प्रमुख भूमिका भने मन्त्री कुन्दनराज काफ्लेको रहेको बताइन्छ।
बागमतीको बजेट निर्माणदेखि कार्यान्वयनसम्म अर्थमन्त्री काफ्लेका गतिविधिबाट प्रदेशका कांग्रेस सांसदहरू चिढिएका छन्। उनीहरूले बजेट विनियोजन नभएर बिक्री भएको सार्वजनिकरूपमै आरोप लगाएका छन्। काफ्लेले नचाहिने योजनामा बजेट पार्ने, मन्त्रालयका सचिव र कर्मचारीहरूलाई धम्क्याउने, र पूर्वभुक्तान रकम लिई योजना पार्ने जस्ता आरोपहरू देउवाले पनि चासोका साथ लिएका छन्।
कांग्रेसका ललितपुरका सांसद तथा पूर्व अर्थराज्यमन्त्री उदय शम्सेर जबराले पनि सार्वजनिक रूपमा काफ्लेलाई पार्टीको इज्जतमाथि प्रहार गरेको आरोप लगाउँदै ‘बजेट ज्ञानविहीन बाहुबलीलाई मन्त्रालय दिइएको भन्दै आलोचना गरेका थिए।
मुख्यमन्त्री लामाले आफूलाई हटाएर इन्द्र बानियालाई मुख्यमन्त्री बनाउन आरजु देउवा, पूर्ण खड्का र बिनोद चौधरीसमेत लागिपरेको आरोप सार्वजनिक रूपमै लगाउँदै आएको कारण पनि देउवा झन् असन्तुष्ट बनेका छन्।
यसले गर्दा बुढानीलकण्ठ अब लामासँग सहकार्य गर्न नचाहने स्थितिमा पुगेको बुझिएको छ।































































