असोज १ गते विश्वकर्मा पूजाकै दिन जन्मिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुष्पप्रसाद सिटौला (सरोज)
श्रम, सीप, प्रविधि र कर्मको सम्मान गर्ने दिन। यही दिनसँग सरोज सिटौलाको जीवनको एउटा अनौठो संयोग जोडिएको छ—उनी विश्वकर्मा पूजाकै दिन जन्मिए। अझ रोचक कुरा, उनको जीवनको कर्म पनि अन्ततः विश्वकर्मासँगै जोडिएको यातायात क्षेत्रमा समर्पित भयो।
ताप्लेजुङ जिल्लाको तत्कालीन फुलबारी गाविस–आठराईको सिन्दुरेबारीमा रहेको भेडीगोठ। फुलबारी स्कुलभन्दा माथि लेकमा पर्ने, अत्यधिक हिमपात हुने त्यो ठाउँमा बिहानको समयमा पूर्वतर्फको कञ्चनजंघा हिमालबाट पाथीभरा माताको मन्दिर हुँदै आएको घामको पहिलो किरणसँगै आफ्नो जन्म भएको उनी सम्झन्छन्।
विश्वकर्मा पूजाको दिन जन्मिएका उनी आज आफ्नो जन्मदिनसँगै विश्वकर्मा पूजा पनि मनाइरहेका छन्। जन्मको त्यो संयोगलाई उनी केवल संयोगका रूपमा मात्र लिँदैनन्। आफ्नो जीवन र कर्मको यात्रासँग त्यसलाई जोडेर हेर्छन्।
“मेरो जन्म विश्वकर्मा बाबाकै विशेष दिनमा भएछ र कर्म पनि विश्वकर्माकै पूजा, आस्था र लगनशीलताबाटै अघि बढ्यो,” सिटौला भन्छन्।
उनी आफ्नो जन्म दिने माता–पितालाई सम्झँदै नमन गर्छन्। र, त्यसपछि सुरु हुन्छ उनको अर्को कथा—यातायातसँग जोडिएको ३६ वर्ष लामो संघर्षको कथा।


ADVERTISEMENT


९६ रुपैयाँ भाडाबाट सुरु भएको काठमाडौं यात्रा


ADVERTISEMENT

# # #


२०४५ साल। नेपालमा ठूलो भूकम्प गएको समय। त्यही वर्ष भदौ ५ गते झापाको काँकडभिट्टाबाट ‘बुद्ध ट्राभल्स’को नाइट बस चढेर उनी काठमाडौं आए। बसको ‘ए’ को ५ नम्बर सिटमा बसेर राजधानीतर्फ लाग्दा उनले ९६ रुपैयाँ भाडा तिरेका थिए।
काठमाडौं आएपछि उनको कर्मयात्रा बागबजारको पुरानो बसपार्कबाट सुरु भयो। सुरुवात मजदुरका रूपमा भयो। त्यही मजदुर जीवनले उनलाई यातायात क्षेत्रको वास्तविक धरातल बुझायो।
मजदुर भएर सुरु भएको यात्रा विस्तारै व्यवसायी हुँदै नेतृत्वको यात्रामा पुग्यो।
२०५५ सालदेखि विभिन्न संघसंस्थामा आबद्ध हुँदै आएका सिटौला २०६३ साल भदौ १७, १८ र १९ गते बुटवलमा भएको यातायात महासंघको महाधिवेशनबाट केन्द्रीय कोषाध्यक्ष बने। त्यसपछि लगातार तीन कार्यकाल केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी सम्हाले।
तीन कार्यकाल कोषाध्यक्ष भएपछि दुई पटक लगातार केन्द्रीय महासचिवको भूमिका निर्वाह गरे। त्यसपछि वरिष्ठ उपाध्यक्षका रूपमा आफ्नो कर्मयात्रालाई निरन्तरता दिए। यातायात व्यवसायीहरूको नेतृत्व गर्दै आएका उनी अहिले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षका रूपमा जिम्मेवारीमा छन्।
मजदुरबाट सुरु भएको यात्रा व्यवसायी, संगठनकर्ता हुँदै यातायात क्षेत्रको सर्वोच्च नेतृत्वसम्म पुग्नु उनको जीवनको महत्वपूर्ण अध्याय हो।
राजनीतिक परिवर्तनका साक्षी पनि, यातायात आन्दोलनका सहयात्री पनि
सिटौलाको यातायात यात्रा केवल व्यवसायमा सीमित रहेन। देशमा भएका ठूला राजनीतिक तथा सामाजिक परिवर्तनका उनी प्रत्यक्ष साक्षी बने।
२०४६ सालको राजनीतिक परिवर्तनदेखि २०६२र६३ को जनआन्दोलन, जनयुद्ध, तराई–मधेस आन्दोलनलगायतका राजनीतिक उतारचढावलाई उनले नजिकबाट अनुभव गरे।
२०६२र६३ को जनआन्दोलनको प्रसंग सम्झँदै उनी तत्कालीन सात दलका नेता तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको आह्वानलाई स्मरण गर्छन्।
त्यतिबेला यातायातका साधन थन्क्याएर आन्दोलनमा सहयोग गर्न र त्यस अवधिको ब्याज मिनाहा गरिने आश्वासनसहित यातायात व्यवसायीलाई आन्दोलनमा सहभागी हुन गरिएको आह्वानमा आफूहरू पनि सहभागी भएको उनी बताउँछन्।
देशमा राजनीतिक परिवर्तनको आन्दोलन चलिरहँदा यातायात क्षेत्र पनि त्यसको एउटा महत्वपूर्ण हिस्साका रूपमा अघि बढेको उनको बुझाइ छ।
संविधानसभाबाट नयाँ संविधान निर्माणको प्रक्रिया अघि बढ्दा यातायात क्षेत्रका विषयलाई पनि नयाँ व्यवस्थाभित्र सम्बोधन गरिनुपर्ने मागसहित आफूहरू निरन्तर सक्रिय रहेको उनी सम्झन्छन्।

“रगतमा नै यातायात छ

सिटौलाको भनाइमा उनको जीवनमा यातायात एउटा पेशा मात्रै होइन।
“मैले अरू कुनै पनि पेशा गरिनँ। मेरो शरीरको रगत–रगतमा यातायात मात्रै रक्तसञ्चार भइरहेको छ,” उनी भन्छन्।
यही कारण उनी आफ्नो व्यक्तिगत जीवनभन्दा यातायात क्षेत्रलाई प्राथमिकतामा राखेर निरन्तर काम गर्दै आएको बताउँछन्।
राजनीतिक अस्थिरता, प्राकृतिक विपत्ति, महाभूकम्प, कोभिड महामारीलगायत अनेक कठिन परिस्थितिमा पनि यातायात क्षेत्रलाई चलायमान राख्न व्यवसायी, मजदुर र कर्मचारीसँगै आफूहरू निरन्तर संघर्षमा रहेको उनको भनाइ छ।
तर लामो समय यातायात क्षेत्रमा बिताउँदा पनि आफू पूर्ण रूपमा सन्तुष्ट हुन नसकेको उनी स्वीकार्छन्।
उनको सन्तुष्टिको मापदण्ड भने फरक छ।
“म सन्तुष्ट त्यही दिन हुन्छु, जुन दिन नेपालको सार्वजनिक यातायात सहज, यात्रुमैत्री, आरामदायी र सुरक्षित हुन्छ,” उनी भन्छन्।
यातायातलाई विकासको मेरुदण्ड मान्ने दृष्टिकोण
सिटौलाको दृष्टिमा यातायात केवल यात्रु ओसार्ने माध्यम होइन। यो देशको अर्थतन्त्र र विकाससँग प्रत्यक्ष जोडिएको क्षेत्र हो।
ताप्लेजुङ, हुम्ला, जुम्लादेखि मेची–महाकालीसम्मका विकट भूगोललाई राजधानी र देशका प्रमुख सहरसँग जोड्ने काम यातायातले गरेको उनी बताउँछन्।
उनका लागि “जहाँ सडक, त्यहाँ विकास” भन्ने अवधारणा केवल नारामा सीमित विषय होइन।
यातायात व्यवस्थित नभएसम्म आर्थिक गतिविधि प्रभावकारी रूपमा अघि बढ्न नसक्ने उनको बुझाइ छ। त्यसैले यातायात क्षेत्रलाई लगानीमैत्री, यात्रुमैत्री र मजदुरमैत्री बनाउने विषयलाई आफ्नो नेतृत्वको प्राथमिकतामा राख्दै आएको उनी बताउँछन्।
उनका अनुसार अहिले यातायात क्षेत्रमा हजारौं नागरिकले अर्बौं रुपैयाँ लगानी गरिसकेका छन्। यसलाई केवल सवारी सञ्चालनको व्यवसाय नभई उद्योगका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ।

राज्यले यातायातको मर्म बुझ्नुपर्ने उनको गुनासो

यातायात क्षेत्रले राजनीतिक आन्दोलनदेखि आर्थिक गतिविधिसम्म देशलाई निरन्तर चलायमान राखे पनि राज्यले यसको वास्तविक महत्वअनुसार व्यवहार गर्न नसकेको सिटौलाको गुनासो छ।
“जसले पनि आफ्ना अभिष्ट र विषय उठान गर्न यातायातलाई हतियारका रूपमा प्रयोग गरे। तर हाम्रो पेशा–व्यवसायका लागि भने गम्भीर भएर विकास र अर्थतन्त्रको मेरुदण्ड तथा मुलुकको रक्तसञ्चार रहेको यातायात क्षेत्रको मर्म बुझ्ने प्रयास भएन,” उनी भन्छन्।
उनका अनुसार राजनीतिक दल, नेता र सरकारहरूले यातायात क्षेत्रलाई आवश्यकताअनुसार प्राथमिकतामा राख्न सकेका छैनन्।
यही अवस्थाबीच व्यवसायीलाई गोलबद्ध गर्दै यातायात क्षेत्रको दीर्घकालीन सुधारका लागि आफू निरन्तर सक्रिय रहेको उनी बताउँछन्।
प्राधिकरणदेखि प्रविधिसम्मको एजेन्डा
सिटौलाले नेपालको सार्वजनिक यातायातको दीर्घकालीन सुधारका लागि अधिकारसम्पन्न यातायात प्राधिकरण आवश्यक रहेको धारणा राख्दै आएका छन्।
उनको अवधारणामा संघीय र प्रादेशिक तहमा प्रभावकारी यातायात प्राधिकरण निर्माण हुनुपर्छ। त्यसले यातायातलाई लगानीमैत्री, मजदुर तथा कर्मचारीमैत्री र यात्रु–उपभोक्तामैत्री बनाउन भूमिका खेल्न सक्छ।
त्यससँगै उनी सार्वजनिक यातायातमा प्रविधिको प्रयोगलाई अब विकल्प नभई आवश्यकता मान्छन्।
काठमाडौं उपत्यकाको अस्तव्यस्त यातायात व्यवस्थापन र सवारी जामलाई व्यवस्थित गर्न आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको उनको भनाइ छ।
जीपीएस प्रणाली, अनलाइन टिकटिङ, नगदरहित कारोबारलगायतका प्रणालीलाई व्यापक बनाउनुपर्ने उनी बताउँछन्।
अनलाइन टिकटिङले यात्रुलाई टिकट लिन काउन्टरमा लामो समय लाइन बस्नुपर्ने बाध्यता हटाउने, भिडभाड कम गर्ने र बिचौलियाबाट हुने सम्भावित ठगीसमेत नियन्त्रण गर्न सहयोग पुग्ने उनको तर्क छ।
“२१औँ शताब्दीको आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०को युगमा आज पनि हातमा टिकट दिने प्रणाली हामीकहाँ विद्यमान छ। चाडपर्वको बेला आउन लाग्दा पनि लाइन लागेर टिकट काट्नुपर्ने अवस्था छ, जुन निकै दुर्भाग्य हो,” उनी भन्छन्।
काठमाडौं मात्र होइन, पोखरा, बुटवललगायत देशका प्रमुख सहरमा पनि सार्वजनिक यातायातलाई नगदरहित कारोबारतर्फ लैजानुपर्ने उनको धारणा छ।

चुनावमा पराजय नभोगेको नेतृत्व यात्रा

सिटौलाको नेतृत्व यात्राको अर्को विशेषता हो—उनले आफूले चुनाव लडेको कुनै पनि निर्वाचनमा पराजय नबेहोरेको बताउँछन्।
यातायात व्यवसायीको विश्वास र माया पाउँदै निरन्तर नेतृत्वमा रहन सकेको उनी बताउँछन्।
उनका लागि यो केवल पदको विषय होइन, जिम्मेवारीको विषय हो।
“म जन्मिएकै यातायातकर्मका लागि हो,” उनी भन्छन्।
उनको आध्यात्मिक विश्वासमा विश्वकर्मा बाबाले आफूलाई यही कर्ममा अघि बढ्न हौसला र शक्ति दिइरहनुभएको छ।
त्यसैले उनी आफ्नो जीवनलाई विश्वकर्मासँग जोडिएको यातायातकर्मका रूपमा व्याख्या गर्छन्।

“यातायात क्षेत्र भनेको विश्वकर्मा क्षेत्र हो”

विश्वकर्मा पूजाको दिन जन्मदिन मनाउँदै गर्दा सिटौलाको एउटा वाक्यले उनको जीवनदर्शनलाई स्पष्ट पार्छ—
“विश्वकर्मा पूजाकै दिन जन्मिएँ, म त यातायात कर्मको पुजारी नै बनेँ, बनिरहनेछु।”
उनका लागि यातायात केवल बस, ट्रक वा सवारी साधनको व्यवसाय होइन। यसमा लगानीकर्ता छन्, मजदुर छन्, चालक–सहचालक छन्, कर्मचारी छन्, यात्रु छन् र देशको अर्थतन्त्र जोडिएको छ।
त्यसैले यातायात सुधारलाई उनी राज्यको कुनै ठूलो पदमा बसेर गरिने कामभन्दा कम महत्वको विषय मान्दैनन्।

अझै अधुरो छ यात्रा

३५ वर्षभन्दा लामो समय यातायात क्षेत्रमा बिताइसकेका सिटौला आफ्नो यात्रा अझै पूरा नभएको बताउँछन्।
उनले हासिल गरेका पद र जिम्मेवारीभन्दा ठूलो उनको लक्ष्य नेपालको सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित, आधुनिक र यात्रुमैत्री बनाउनु हो।
मजदुरको रोजीरोटी सुनिश्चित होस्, व्यवसायीको लगानी सुरक्षित होस् र यात्रुले सहज, सुरक्षित तथा सम्मानजनक यात्रा गर्न पाऊन्—उनको जोड यिनै तीन पक्षमा छ।
त्यसका लागि देशभरका यातायात व्यवसायीलाई अझ संगठित र गोलबद्ध गर्दै अघि बढ्ने उनको प्रतिबद्धता छ।
विश्वकर्मा पूजाको दिन आफ्नो जन्मदिन मनाउँदै उनले देशभरका यातायात व्यवसायी तथा सरोकारवालालाई सार्वजनिक यातायातलाई प्रविधिमैत्री र यात्रुमैत्री बनाउन एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।
उनको जीवनको अधिकांश समय यही क्षेत्रमा बित्यो। सुरुवात ९६ रुपैयाँको बस भाडाबाट भएको थियो। मजदुरबाट सुरु भएको यात्रा व्यवसायी हुँदै संगठनको नेतृत्वसम्म पुग्यो।
आज उनी देशको यातायात क्षेत्रको नेतृत्वमा छन्।
तर उनको आफ्नै शब्दमा, यो यात्राको अन्तिम गन्तव्य अझै आएको छैन।
गन्तव्य त्यतिबेला मात्रै आउनेछ, जब नेपालको सार्वजनिक यातायात सहज, सुरक्षित, आधुनिक र यात्रुमैत्री हुनेछ।
त्यसैले विश्वकर्मा पूजाको दिन जन्मिएका सरोज सिटौलाका लागि जन्मदिन केवल उमेर थपिएको दिन होइन—आफ्नो कर्मप्रतिको प्रतिबद्धता दोहोर्‍याउने दिन पनि हो।
विश्वकर्मा बाबाको पूजा गर्दै उनी फेरि त्यही प्रण गर्छन्—
“यातायात कर्ममा लागेको छु,  र सधैँ लागिरहनेछु। मेरो कर्म देश, समाज र जनताकै सेवामा समर्पित रहोस्।”