काठमाडौँ – कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताको हैसियत गुमाएका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान दोहोर्याएका छन् ।
मंगलबार संसदीय दलमा भएको मतविभाजनमा पराजित भए पनि उनले मुख्यमन्त्री पदबाट भने राजीनामा दिनुपर्ने कुनै संवैधानिक बाध्यता नरहेको भन्दै आफ्नो अडान कायमै रहेको दाबी गरेका हुन् ।
मत विभाजनपछि पत्रकारहरूसँग कुरा गर्दै लामाले सरकारको नेतृत्व र संसदीय दलको नेतृत्व अकै भएको बताए । ‘सरकारको नेतृत्व एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो । मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन,’ उनले भने, ‘गठबन्धन सरकारमा दलको नेताको हैसियतले मात्रै मुख्यमन्त्री बन्नुपर्ने कुनै बाध्यता छैन ।’
संसदीय दलमा भएको मतविभाजनमा लामा पक्षमा १५ मत मात्र परे भने विपक्षमा २२ मत परेको थियो । बहुमत गुमाएपछि उनले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।































































