काठमाडौँ — नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेताको चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
दल नेता पदका लागि इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन्। उनले सांसद याङ्किला शेर्पाको समर्थन र सांसद कृष्णकुमार तामाङको प्रस्तावमा उम्मेदवारी दिएका हुन्।
यसअघि साउन १३ गते मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव पारित भएपछि उनी दल नेताको हैसियत गुमाएका थिए। त्यसपछि नयाँ नेता चयन गर्न कांग्रेसले निर्वाचन प्रक्रिया अघि बढाएको हो।
बागमती प्रदेशसभामा कुल ११० जना सांसद छन् भने कांग्रेसका ३७ जना प्रतिनिधित्व गर्छन्। मंगलबार भएको दलको आन्तरिक मतदानमा बानियाँ पक्षमा २२ जना सांसद उभिएका थिए, भने तत्कालीन दल नेता लामालाई १५ जनाको समर्थन मात्र प्राप्त भएको थियो।
दल नेताको निर्वाचन आजै सम्पन्न हुने र नतिजा पनि आजै सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।
यसैबीच, दल नेताको हैसियत गुमाइसकेका मुख्यमन्त्री लामाले बुधबार बिहान प्रदेश सरकारमा तीन जना नयाँ मन्त्रीको नियुक्ति गरेका छन्।































































