काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बेरुजु फर्छ्यौटका लागि राज्यका निकायलाई जवाफदेही बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले हरेक वर्ष बेरुजु बढ्दै गएकाले कानूनको पूर्ण कार्यान्वयन र कार्यसम्पादनमा बेरुजुलाई जोडेर राज्यका निकायलाई जवाफदेही बनाउन सरकारको ध्यानाकर्षण गराएको हो ।
बैठकले चालू आर्थिक बर्षलाई बेरुजु फर्छ्यौट वर्षका रुपमा अभियानकै रुपमा चलाउन समेत सुझाव दिएको समिति सभापति ऋषिकेश पोखरेलले बताए । उनले विभिन्न कार्यालयमा सरुवा गरि पठाउने लेखासम्बद्ध अधिकारीको पछिल्लो दुई आर्थिक वर्षको कार्यकालको कार्यसम्पादन र आगामी कार्ययोजनाका बारेमा प्रतिवेदन नै बनाएर समितिलाई पेश गर्न महालेखा परीक्षक कार्यालयलाई निर्देशन दिए ।
बैठकमा महालेखा परीक्षक तोयम रायले बेरुजु बढ्दै गएपनि त्यहि अनुसार फर्छ्यौटको काम पनि अघि बढेको धारणा राखे । उनले मन्त्रालयको बेरुजु कम गर्न सचिवहरुले पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
त्यस्तै बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिवहरुले बेरुजु फर्छ्यौटका देखिएका समस्याका बारेमा जानकारी गराएका थिए भने समिति सदस्यहरुले कार्यसम्पादनमा बेरुजुलाई जोडेर नै जवाफदेही बनाउनुपर्नेमा जोड दिएका थिए ।



























































