काठमाडौं–चेल्सीलाई हराउँदै स्पेनिस क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इङ्लिस क्लब चेल्सीलाई ३–० ले हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो ।


ADVERTISEMENT


घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेसीले दुई गोल गरे । यस्तै ओसुमान डेम्बेले थप एक गोल गरे । यो जितसँगै बार्सिलोनाले चेल्सीमाथि समग्रमा ४ – १ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । यसअघि चेल्सीको मैदानमा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।


ADVERTISEMENT

# # #


क्याम्प नाउमा भएको दोस्रो लेगमा बार्सिलोना चेल्सीमाथि सुरुवातबाटै हावी भएको थियो । र, खेलको तेस्रो मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको २० औं मिनेटमा डेम्बेले गोल गर्दा बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनायो । पहिलो हाफमा २–० ले अघि बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्‍यो । त्यसपछि खेलको ६३ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए । घरेलु मैदानमा बार्सिलोनासँग राम्रो प्रदर्शन गरेको चेल्सीले अवे मैदानमा भएको दोस्रो लेगमा आफूलाई जोगाउन सकेन र प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।

चेल्सीविरुद्धको दुई गोलसँगै मेसीले च्याम्पियन्स लिगमा १ सयौं गोल पूरा गरेका छन् । मेसीले १२३ खेलबाट सय गोल पुरा गरेका हुन् ।