काठमाडौं–एक हजारको नेपाली नोट फोटोकपी गरी सर्वसाधारणलाई ठग्ने गिरोहका पाँचजनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । गत बिहीबार धरान–१५ का एक व्यापारीलाई दुई युवाले झुक्याएर फोटोकपी गरेको एक हजारको कागजी पैसा दिएका थिए । उनीहरूले ती व्यापारीलाई नक्कली एक हजारको रुपैयाँ दिएर सक्कली पाँच सयको नोट लिएपछि प्रहरीले यस घटनामा खोजी सुरु गरेको थियो ।


ADVERTISEMENT


खोजी गर्ने क्रममा गत फागुन २८ गते अस्थायी प्रहरीचौकी अमरहाटका असई सुमन दाहालको टोलीले धरान–१३ का राज राई र प्रकाश भण्डारीलाई पक्राउ गरेको थियो । फोटोकपी पैसा दिएर सक्कली पैसा लिई उनीहरूले लागुऔषध खरिद गरी प्रयोग गर्दै आएका थिए । उनीहरूकै बयानका आधारमा धरान–१९ का मनीष राई, धरान–११ का दिवस राई र धरान–७ का मीनकुमार राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT

# # #


घटनामा संलग्न पाँचमध्ये चारजना लागुऔषधको दुव्र्यसनमा रहेको प्रहरीले जनाएको छ । राज र प्रकाशका साथबाट ४६ थान लागुऔषधसमेत बरामद भएको प्रहरीले जानकारी दियो । उनीहरूलाई लागुऔषध दुव्र्यसनीको मुद्दा चलाइएको छ । बुधबार पक्राउ परेका दिवस र मनीष पनि लागुऔषधको दुव्र्यसनमा रहेको खुलेको छ । फोटो स्टुडियोका कर्मचारी मीनबहादुर राईका विषयमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।