काठमाडौं– गुण्डा नाईके गणेश लामालाई दश दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले महानगरीय प्रहरी प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको छ ।


ADVERTISEMENT


बुधबार राती गौशालास्थित पशुपति भिजनबाट एकथान पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका लामालाई दश दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेपाली कांग्रेसबाट प्रदेशसभातर्फ काभ्रेबाट चुनाब लडेका लामा पशुपति भिजन स्थित इन्द्रणी क्लबमा जिम गरेर फर्कने क्रममा हतियारसहित पक्राउ परेका थिए । पशुपति भिजनमा गोली चलेको आवाज आएपछि नजिकै जात्राको सुरक्षार्थ खटिएका एक प्रहरी जवानले लामालाई नियन्त्रणमा लिएका थिए । प्रहरी जवानले उनकै साथबाट हतियार फेला परेको भनेपनि लामाले उक्त पेस्तोल आफ्नो नभएको दाबी गरेका छन् । आफुलाई कसैले प्रहार गरेको हतियार खोसेर प्रहरीलाई दिने क्रममा प्रहरीले जबर्जस्त आफैंबाट बरामद गरेको घट्नास्थल मुचुल्का तयार गरेको भन्दै लामाले बरामदी मुचुल्कामा समेत हस्ताक्षर गरेका छैनन् ।

काठमाडौं प्रहरी प्रवक्ता मोहन थापाका अनुसार सिसिटीभी फुटेजमा लामाकै हातबाट प्रहरीले हतियार बरामद गरेको देखिएको छ । लामा निकट स्रोतका अनुसार इन्द्रेणी क्लबको लकरमा उनले लामो समयदेखि लुकाएर राखेको उक्त अत्याधुनिक पेस्तोल बुधवार साँझ कसैले निहुँ खोजेपछि निकालेर फायर गरेका थिए । लामाले हवाई फायर गर्दै अर्को एक युवालाई लखेट्ने क्रममा प्रहरीले उनको पेस्तोल बरामद गरेको बताईएको छ ।