काठमाडौँ – ‘गुण्डाका नाइके’ का रुपमा चिनिने चक्रे मिलनलाई भक्तपुर जिल्ला अदालतले १ लाख १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। शुक्रबार न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उक्त फैसला सुनाएको हो।
भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार, स्वास्थ्य परीक्षण पश्चात उनलाई रिहा गर्ने तयारी भइरहेको छ।
चक्रे मिलन यसअघि जन्मदिनको अवसरमा पक्राउ परेका थिए। त्यसबेला काठमाडौं जिल्ला अदालतले अभद्र व्यवहारको मामिलामा उनलाई ३० हजार रुपैयाँ धरौटीमा छुटेका थिए। तर, २०८१ भदौ ४ मा भएको कुटपिट घटनाको अनुसन्धानका लागि उनलाई भक्तपुर ल्याइएको थियो।
गत वर्ष भदौमा भक्तपुरका मनिष रायमाझीले सामाजिक सञ्जालमा चक्रेलाई ‘डुँडे’ भन्दै अपमान गरेपछि चक्रे मिलनले उनलाई फोनमार्फत धम्की दिएका थिए। त्यसपछि भदौ ४ गते चक्रेका सहयोगी अजित खवाससहितको समूहले रायमाझीमाथि आक्रमण गरेको आरोप छ।
रायमाझीले दिएको जाहेरीको आधारमा चक्रे मिलनविरुद्ध मुद्दा दायर गरिएको थियो। उक्त जाहेरी २०८१ असोज ९ गते भक्तपुर जिल्ला अदालतमा दर्ता भएको थियो र चक्रे मिलनलाई पहिलो प्रतिवादी बनाइएको थियो।


























































