काठमाडौँ – नर्दन टेरिटरी क्रिकेटको आयोजनामा अष्ट्रेलियाको डर्बिनमा जारी टप एण्ड टी–२० क्रिकेट सिरिजको आफ्नो पहिलो खेलमा नेपालले ४२ रनको हार व्यहोरेको छ ।


ADVERTISEMENT


शुक्रबार आयोजक टोली नर्दन टेरिटरी स्ट्राइक (एनटीएस)ले नेपाललाई ४२ रनले हराएको हो । डर्बिनस्थित मर्रारा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एनटीएस निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनायो ।


ADVERTISEMENT

# # #


जवाफी ब्याटिङमाउत्रिएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमै समेटिएको हो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए । उनले २६ बलमा १ चौका र २ छक्का प्रहार गरे । यस्तै गुल्शन झाले १० बलमा २ चौका र २ छक्काको मदतमा २६ रन जोडे भने कप्तान रोहित पौडेल २३, दीपेन्द्रसिंह ऐरी १९ र आशिफ शेख ११ रनमा आउट भए ।

बलिङतर्फ एनटीएसका म्याट ह्यामोन्डले सर्वाधिक ३ विकेट लिए भने केन रिचार्डसन र थोमस एन्ड्रयुजले समान २–२ तथा हामिस मार्टिनले १ विकेट हात पारे ।

यसअघि एनटीएसका लागि कप्तान डार्की सर्टले सर्वाधिक ५१ रन बनाए । त्यसक्रममा उनले ३४ बलमा ७ चौका र १ छक्का प्रहार गरे । यस्तै थोमस एन्ड्रयुजले नटआउट ३२ रन हाने । यस्तै जोर्डन सिल्कले १९, कोनर क्यारोलले १८, क्याडेल म्याकमोहनले १२ र जेक वेदरल्डले ११ रनको योगदान दिए । नेपालले २४ रन अतिरिक्त दियो ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने शाहब आलमले २ तथा कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र रुपेश सिंहले समान १–१ विकेट हात पारे । त्यसक्रममा ४–४ ओभरमा सन्दीप लामिछानेले ३८, दीपेन्द्रले ३३, साहब आलमले ३२, रोहितले २३ रन खर्चिए ।

सिरजमा नेपालले भोलि बंगलादेशको ‘ए’ टोलीसँग खेल्नेछ ।