काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री दीपक खड्काले उद्योगहरुले प्रयोग गरेको विद्युतको बक्यौता असुल गर्न विधुत प्राधिकरणलाई निर्देशन दिएका छन् ।
नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा ऊर्जा मन्त्री खड्काले डेडिकेटेड र ट्रंकलाईनको विषयमा प्राधिकरण लामो समय अल्मलिएर बसेको भन्दै छिटो भन्दा छिटो बक्यौता असुल गर्न निर्देशन दिएका हुन् ।
उद्योगीहरुले उपयोग गरेको विधुत वापतको महसुल उठाउने क्षमता प्राधिकरणले राख्नुपर्ने उनले बताए । मन्त्री खड्काले विद्युत उत्पादनसंगै सुरक्षित प्रवाह गर्न सक्ने क्षमताको अभिवृद्धि गर्ने लक्ष्यका साथ प्राधिकरणले काम गर्न सक्नुपर्नेमा जोड दिए ।
सरकारले सबैभन्दा चाँडो मुलुकलाई समृद्ध बनाउने क्षेत्रका रुपमा उर्जा क्षेत्रलाई देखेकाले यसको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताए । उनले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पुरा गर्न विद्युत प्राधिकरणको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
मन्त्री खड्काले जलशाययुक्त आयोजनाहरुलाई प्राधिकरणले समेत अघि बढाउन सक्ने गरी सरकारले योजना तयार पारेको स्पष्ट पारे । उनले विधुत प्रवाहमा देखिएको अवरोध यसअघिको बर्षमा भन्दा चालू वर्षमा आधा घटे पनि थप सुधार गर्दै अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको कुल सम्पती ६ दशमलव २ प्रतिशतले बृद्धि भइ ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको जानकारी दिए । प्राधिकरणले आर्थिक वर्ष २०८१÷८२ मा कुल एक खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको उनले बताए । उनले गत आर्थिक बर्षमा प्राधिकरणको प्रणालीमा कूल ४ सय ३४ मेगावाट थप भएको जानकारी दिए । त्यस्तै प्रणालीमा कुल २५३ सर्किट किलोमिटर लाइन थप भइ कुल लम्वाई ६ हजार ७ सय ६० सर्किट किलोमिटर पुगेको उनले बताए ।
उनले विद्युत् चुहावट ०.४७ प्रतिशतले कमी भई १२.२६ प्रतिशतमा आएको जानकारी दिए । गत आर्थिक वर्षमा देशभरीका ग्राहकहरुमा ५९५ घण्टा विद्युत ट्रिप भएको र यो वर्ष घट्ने क्रममा रहेको उनको भनाइ छ । शाक्यले आगामी वर्ष काठमाडौं उपत्यकाका चार लाख घरधुरीमा स्मार्ट मीटर जडानको प्रक्रिया सुरु हुने र देशभर गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था गरिने पनि बताए । समारोहमा प्राधिकरणका उत्कृष्ट १५ कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो भने उत्कृष्ट काम गर्ने कार्यालयहरूलाई समेत पुरस्कृत गरिएको थियो ।


























































