काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री विक्रम मिश्रीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
सचिव मिश्रीले उनीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । उनी सभापति देउवासँग भेट गर्न बुढानीलकण्ठस्थित निजी निवास पुगेका थिए । यस्तै मिश्री प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए ।
भेटवार्तामा नेपाल–भारत सम्बन्धका समसामयिक विषयमा छलफल भएको थियो । भेटपछि सभापति देउवाले सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन्–’आज मेरो निवासमा भारतीय विदेश सचिव विक्रम मिश्रीलाई स्वागत गर्न पाउँदा खुशी लाग्यो । हाम्रो छलफल पारस्परिक विश्वास, सद्भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा निर्मित घनिष्ठ र बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्नमा केन्द्रित थियो ।’
प्रधानमन्त्री केपी शर्माओलीको आसन्न भारत भ्रमणको बारेमा छलफल गर्न मिश्री आजै काठमाडौँ आइपुगेका थिए । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्माओलीसँग भेटवार्ता गरेका थिए ।


























































