उपत्यका तथा बाहिरका सहरमा प्रदूषण बढ्दो छ । सवारीसाधन, उद्योगधन्दा तथा सडकबाट निस्केको धुलोले हाम्रो छालालाई नराम्रो असर पारिरहेको छ । यस्तो धुवाँ–धुलोबाट जोगिन नसके छालामा अनेकौँ रोग निस्कन सक्छन् । यस्तो परिस्थितिमा छालालाई सुरक्षित राख्न हामी विभिन्न उपाय अपनाउन सक्छौँ :
डा. आयुष्मान घिमिरे
छालारोग विशेषज्ञ
बिहान उठेपछि हरेक दिन फेसवास गर्न भुल्नुहुँदैन । आफ्नो छालाको प्रकृतिअनुसार फेसवास क्रिम प्रयोग गर्नुपर्छ । आयली फेसमा आयल कन्ट्रोल फेसवास तथा फेस स्कर्ब पनि प्रयोग गर्नु राम्रो हुन्छ । बिहान घरबाहिर निस्कनुपर्ने भएमा सनब्लक क्रिम लगाउन भुल्नुहुँदैन । सनब्लक क्रिमले घाम र धुवाँ–धुलोको रापबाट स्किन जोगाउने काम गर्छ ।
सनब्लक क्रिम लगाएपछि आवश्यकताअनुसार मेकअप गर्न सकिन्छ । खासै मेकअप आइडिया नभएकाले पनि हल्का फाउन्डेसन भने प्रयोग गर्नैपर्छ ।
दिनभर काममा निस्किँदा मेकअप लतपतिने खतरा रहन्छ । यसले पनि सौन्दर्यमा ह्रास ल्याउँछ । मेकअपले ठाउँ छोडेपछि छालामा बाहिरी असर पर्न सक्छ । त्यसैले पसिना निस्किँदा सोस्ने कम्प्याक्ट पाउडर र पफ ब्यागमै बोक्नु राम्रो हुन्छ । पफले पसिनामा हल्का टचअप गरिराख्नुपर्छ ।
बेलुका घर फर्किएपछि क्लिन्जिङ र फेसवास गर्न छुटाउनुहुँदैन । छालाको बाहिरी पत्रमा दिनभर टाँसिएको बाहिरी फोहोर फाल्न ५–७ मिनेट क्लिन्जिङ गर्नुपर्छ । क्लिन्जिङपछि फेसवास गर्नुपर्छ ।
घाम पर्ने सम्पूर्ण भागमा क्रिम लगाउनुपर्छ । मेकअप सनस्क्रिन क्रिमभन्दा माथि लगाउँदा पनि हुन्छ । एउटा सनक्रिमले ३–४ घन्टा मात्र काम गर्छ । त्यसैले दिउँसो १२–१ बजे सनक्रिम लगाउनुपर्छ । मुख धुन सम्भव भए मुख धोएर लगाउनुपर्छ । सम्भव नभए त्यसैमाथि भए पनि लगाउनुपर्छ । पानी प्रशस्त पिउनुपर्छ । फलफूल, हरियो सागपात, गाँजर, मूलाजस्ता खानेकुरा खानुपर्छ ।
-नयाँ पत्रिका