भुवनबहादुर सिंह,बिजगडा(बझाङ)–रोजगारीको खोजीमा भारतका गल्लीहरुमा निकै भौतारिएका एक युवा अहिले आफ्नै बारीमा तरकारी खेती गरेर महिनामै ४०/५० हजार कमाउन थालेका छन । उनको मेहनत र पौरखले उनि जस्तै धेरै युवाहरु पनि विदेश जानबाट रोकिएका छन ।


ADVERTISEMENT


२२ वर्षको उमेरमा नै व्यवसायी तरकारी खेती गरेर सफल किसान बनेका युवा प्रमोद कुंवर हुन । करिब १ वर्ष सम्म गांउका अन्य युवा जस्तै मजदुरीको लागी भारत पसेका उनि त्यहांको दुख देखेर आफ्नै ठांउमा केही गर्नु पर्ने सोच पलाएको र त्यसै सोचले आफुलाई सफल बनाएको बताएका छन् । ‘राती राती बजारको ड्युटी गर्नु पर्ने, गर्मी र लामखुट्टेले सताउने, भनेको बेला तलब पनि नदिने, सबैले हेप्ने’ दक्षिण भारतको तामिलनाडुमा भोगेको दुःख सुनाउदै उनले भने ‘अर्काको देशमा यस्तो दुख गर्नु भन्दा त आफ्नै गाँउमा पसिना बगाउला भनेर फर्केको हुं राम्रै भएको छ ।’


ADVERTISEMENT

# # #


डेढ वर्ष अघि भारतबाट फर्केर केही आफ्नो र केही छिमेकीको जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेका प्रमोदले अहिले २ वटा पलाष्टीक घर सहित ४ रोपनीमा तरकारी खेती गरेका छन । मौसमी र बेमौसमी आलु, कांक्रो, गोलभेडा, भण्टा, मुला, खुर्सानी जस्ता जातका तरकारी खेती गरिरहेका प्रमोदले भने ‘३०/४० वटा कुखुरा पनि पालेको छु । तरकारी, कुखुरा, अण्डा बेचेर महिनाको ४० हजार त फालेकै कमाई हुन्छ । अब यसै व्यवसायलाई बढाउने सोच बनाएको छु’ नजिकै बुङ्गल नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र विजगडा बजार रहेकोले बजारको कुनै समस्या नरहेको उनले बताए । उनले भने ‘बारीमै किन्न आउछन । माग आए जति पुर्याउनै सकिएको छैन ।’

साउन भदौको महिनामा मात्र कांक्रो फल्ने बिजगडामा उनले जेठको पहिलो हप्तामै टनेल भित्र कांक्रो फलाएर सबैलाई चकित समेत बनाएका छन । स्थानिय भुमिका कुंबर भन्छिन । ‘जेठमा कांक्रो फलाउछु भनेर उनले भन्दा सुरुमा धेरैले पत्याउदैनथे । उनले त साँच्चै फलाएरै देखाए’ प्रमोदको सफलता देखेर अहिले यस गांउका धेरै युवाहरु तरकारी खेती र कुखुरा पालन तर्फ आकर्षित हुन थालेको उनले बताइन । प्रविधीको प्रयोग गर्न नजानेर किसानहरु घाटामा गएको बताउने प्रमोदले आफुले नियमित रुपमा जिल्ला कृषि विकास कार्यालय तथा तरकारी खेती प्रविधीको बारेमा सिकाउने पहल कार्यक्रमको सहयोग लिएर नयाँ नयाँ प्रविधीहरु सिक्ने र तरकारी खेती गर्न चहाने आफु जस्तै युवालाई सिकाउने गरेको बताए ।

छोटो अवधी मै व्यवसायीक किसानको परिचय बनाउन सफल भएका प्रमोदलाई जिल्ला कृषि विकास कार्यालयले अगुवा किसानको रुपमा विकास गरेर बुङ्गल क्षेत्रमा व्यवसायिक तरकारी खेतीलाई बढावा दिने सोच बनाएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक मदन राज जोशीले बताएका छन् ।