रमेश लम्साल, काठमाडौँ– नियमित विद्युत् आपूर्तिपछि मुलुकको उद्योग व्यवसायमा अप्रत्यासित वृद्धि भएको छ ।


ADVERTISEMENT


सिमेन्ट, होटल तथा पर्यटन क्षेत्रमा समेत सकारात्मक परिवर्तन आएको उद्योगी तथा व्यावसायीले बताएका छन् । अघिल्ला वर्षमा दैनिक आठदेखि दशघन्टा मात्रै विद्युत् पाएका उद्योगी तथा व्यवसायीले गत असोजदेखि निरन्तर रुपमा दैनिक २० घन्टा विद्युत् पाएका छन् ।


ADVERTISEMENT

# # #


एक चरणमा मात्रै चल्ने उद्योग दुई चरणमा चल्न थालेका छन् । उत्पादन क्षमता बढेको छ भने रोजगारीको अवसरमा समेत वृद्धि भएको छ । होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव विनायक शाहले नियमित विद्युत् प्राप्त भएपछि होटलको खर्चमा मासिक ४५ प्रतिशतले कमी आएको, गुणस्तरीय सेवा दिन सकिएको तथा रोजगारीको अवसरमा समेत वृद्धि भएको बताए ।

“हामीले दिने सेवा र मूल्य तय गर्न सहज भएको छ, डिजेल खपतमा कमी आएको छ,” शाहले भने । नियमित विद्युत् आपूर्तिपछि काठमाडौँ, पोखरा, चितवनलगायतका होटल तथा सेवा क्षेत्रमा देखिएको सकारात्मक परिवर्तनले सरकारलाई सहज रुपमा सहयोग गर्ने वातावरण बनेको उनको भनाइ छ । होटलमा प्रयोग भएको पुराना बल्व हटाउने, नयाँ एलइडी बल्व राख्ने, पुराना कन्डक्टर एवम् फ्यूज फेर्ने तथा अन्य प्राविधिक उपकरण फेर्नेतर्फ प्राधिकरणको सहयोगको अपेक्षा गरेको शाहले बताए ।

सिमेन्ट उत्पादक सङ्घका महासचिव ताराप्रसाद पोखरेल नियमित विद्युत् आपूर्तिले सिमेन्ट उत्पादन तथा क्लिङ्कर उत्पादनमा गत वर्षभन्दा ५० प्रतिशतले बढोत्तरी भएको बताउँछन्। सिमेन्टमा आत्मनिर्भर बनेको मुलुकलाई थप समृद्ध बनाउने र निर्यात बढाउनका लागि अझै नियमित रुपमा विद्युत् आवश्यक रहेको पोखरेलको भनाइ छ ।

रुपन्देही क्षेत्रमा दर्जनौँ सिमेन्ट उद्योग स्थापना हुने चरणमा रहेका र केही सञ्चालनमा आइसकेकाले न्यूनतम एक सय र अधिकतम दुई सय मेगावाटसम्म विद्युत् आवश्यक रहेको पोखरेल बताउँछन् ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्याय दैनिक २० घन्टा उद्योगले विद्युत् पाउनु सुखद रहेको बताउँछन् । ‘‘गत वर्षभन्दा उद्योगको उत्पादन क्षमतामा ४० प्रतिशतले वृद्धि भएको छ । नेपाल विद्युत् प्राधिकरणको प्रशासन पनि चुस्त देखिएको छ । जनतामा साँच्चै नौलो अनुभूति भएको छ,” उपाध्यायले भने।

उद्योगले नियमित विद्युत् पाए पनि स्वच्छ ऊर्जा भने पाउन सकेका छैनन् । ट्रिपिङको समस्या छ । भोल्टेज पनि तल माथि हुने गर्दा मेसिन जल्ने तथा उत्पादित सामग्री गुणस्तरीय नहुने भएकाले भोल्टेजको समस्या सुधार गर्नुपर्नेमा अध्यक्ष उपाध्यायले जोड दिए ।

बिएण्ड बि अस्पतालका प्राविधिक अधिकृत सुरेन्द्र माथेमाले अत्यन्तै गम्भीर बिरामीको शल्यक्रिया गर्दागर्दै बत्ती जाँदाको पीडा विगतका वर्षमा हुने भए पनि विगत सात महिनादेखि त्यस्तो समस्या भोग्नु नपरेको बताए ।

“अस्पतालमा उपकरण चलाउन समस्या हुन्थ्यो, आइसियुका बिरामीलाई विद्युत्को अभावमा ज्यान जोगाउनै समस्या हुने अवस्था थियो, तर अहिले त्यो समस्या हटेको छ,” उनले भने।

वरिष्ठ चिकित्सक डा भोला रिजाल विद्युत्भार कटौती अन्त्य होला र ? भन्ने निराशा, मानसिक तनावमा परेका नेपालीलाई सरकारले राहत दिएको बताउँछन् । “सरकारको काम प्रशंसायोग्य छ,” डा रिजालले भने।

नियमित विद्युत् आपूर्तिपछि समग्र क्षेत्रमा परेको सकारात्मक प्रभावका कारण चालु आवको आर्थिक वृद्धिदर समेत २५ वर्षपछि ६.५ बिन्दुमा पुग्न लागेकाले आफूहरुलाई पनि खुसी लागेको बताउँछन् ऊर्जा सचिव अनुपकुमार उपाध्याय । आम नागरिक, उपभोक्तबाट पाएको सकारात्मक सहयोग नै ऊर्जा मन्त्रालयका लागि प्रेरणाका स्रोत भएको उनको भनाइ छ ।रासस