काठमाडौं–तुलसीपुर उपमहानगरपालिकाले सडक पेटी अतिक्रमण गरी निर्मित संरचना हटाउन डोजर चलाएका छन् । सडक पेटी अतिक्रमण गरी निर्मित फलामे भर्‍याङ, होर्डिङ बोर्ड र अन्य संरचना हटाउन मंगलबारदेखि उपमहानगरपालिकाले डोजर चलाएको हो । मेयर घनश्याम पाण्डेले नगरलाई हराभरा, सुरक्षित र व्यवस्थित गर्ने अभियान अन्तरगत अतिक्रमण गरी निर्मित संरचना हटाउन सुरू गरिएको स्रोतलाई बताएका छन् ।


ADVERTISEMENT


उपमहागनरपालिकाले विगत तीन महिनादेखि सार्वजनिक सूचनामार्फत सडक पेटी अतिक्रमण गरी निर्मित संरचना हटाउन आग्रह गर्दै आएको थियो । ‘हाम्रा आग्रहलाई बेवास्ता गर्ने र अटेरी गर्नेहरूका विरुद्ध हामी डोजर चलाउन बाध्य भएका हौं,’ मेयर पाण्डेले भने ।


ADVERTISEMENT

# # #


उनले बजारलाई कुरुप देखाउने गरी निर्मित होर्डिङ बोर्डदेखि सम्पूर्ण सामग्री तत्काल हटाउने बताए। उनले सडक पेटी अतिक्रमण गरी निर्मित संरचना हटाउन अटेर गर्नेहरू, सडक पटी ओगटेर व्यापार गर्नेहरू र मनपरी फोहर गर्नेहरूलाई आर्थिक जरिवानाका साथै कानूनी कारवाही थाल्ने चेतावनी दिएका छन् ।

मेयर पाण्डे आफैँ अतिक्रमण गरी निर्मित संरचना हटाउन अभियानमा सहभागी थिए । जहाँ, तुलसीपुर क्षेत्रका उद्योगी व्यवसायी र सरोकारवालाहरूको समेत बाक्लो उपस्थिति थियो । उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले तलसीपुरको मुख्य बजार क्षेत्रमै झन्डै दुई दर्जनको हाराहारीमा सडक पेटी अतिक्रमण गरी निर्मित फलामे भर्‍याङहरू रहेको बताए ।