काठमाडौं–सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारका सबै काम हेटौंडाबाटै सुचारु भएकाले अब राजधानी सार्ने कुरा असम्भब भएको बताएका छन् । अध्यक्ष प्रचण्डले पहिलेको सरकारले राजनीतिक सहमतिका आधारमा राजधानी हेटौंडा तोकेकाले राजधानी सार्ने कुरामा बहस चलाउनुको औचित्य नभएको बताए ।


ADVERTISEMENT


सिराहामा भारत सरकारको सहयोगमा निर्माण हुने हुलाकी मार्गको शिलान्यास गरेपछि प्रचण्ड व्यवसायी अजयेराज सुमार्गीले व्यवस्था गरेको हेलिकोप्टर चढेर मंगलबार हेटौंडा आएका थिए ।


ADVERTISEMENT

# # #


बुधबार बिहान प्रेस सेन्टर नेपालले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले ३ नम्बर प्रदेशको नामाकरण र राजधानीको बिषयमा छलफल भएपनि अघिल्लो सरकारले निर्णय गरेअनुसार नै औपचारीक कार्यक्रम भैरहेकाले यहाँबाट राजधानी नसर्ने बताए । उनले भने, ‘प्रकृया अगाडि बढिसकेको र कामहरु औपचारीक रुपले सुरु भएकाले बाहिर भएको हल्ला र प्रचारबाजीले राजधानी सर्ने कुरा छैन ।’

सबै काम र पूर्वाधारको व्यवस्थापन हेटौंडामा भैसकेकाले राजधानी सार्ने कुरा अब धेरै गर्न नहुने र जिम्मेवार पदमा रहेकाले बोल्दै हिँड्न नहुने उनले बताए । ‘हुन त कसैले बोल्दैमा राजधानी सर्नेपनि होइन तैपनि जनतालाई भ्रममा राख्दै प्रचारबाजी गर्नुको कुनै अर्थ छैन,’ उनले भने ।

‘राजनीति सहज ढंगले अघि बढ्छ’

प्रदेश सरकारमा रहदै आएको संकटलाई निराकरण गर्न सरकार अब प्रदेशका लागि आवश्यक कानुन र नीति निर्माणमा अघि बढ्ने उनले जानकारी दिए । प्रदेश सरकारलाई चलायमान बनाउनका लागि आवश्यक कानुन निर्माणसँगै सुशासन, स्थायीत्व, बिकास र समृद्धिको दिशामा अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो ।

राष्ट्रिय मुद्दामा समझदारीका साथ अघि बढ्ने प्रयत्न गरिरहेको बताउँदै प्रचण्डले सरकारलाई मधेस केन्द्रित दुबै दलले विश्वासको मत दिएकाले राजनीति सहज ढंगबाट अघि बढ्ने र देशमा बिकासले गति लिने प्रचण्डले बताए ।

अब चाँडै जनताले दिएको म्याण्डेडअनुसार एमाले र माओवादीबीच पार्टी एकता गर्ने बेला आएको उनले बताए । पार्टी एकताका लागि बनेको अन्तरीम राजनीतिक प्रतिवेदन, अन्तरीम बिधान र संगठनको सेटिङबारे बनेका दुईवटा कार्यदलले काम सकिसकेकाले कार्यदलले प्रतिवेदन दिएपछि पार्टी एकताको प्रकृया शुरु हुने प्रचण्डले जानकारी दिए ।