काठमाडौं– कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेता प्रकाशमान सिंहले ८ पेज लामो ‘राजनीतिक डकुमेन्ट’ प्रस्तुत गरेका छन् ।


ADVERTISEMENT


‘सुझाव एवम् प्रस्ताव’ नाम दिइएको सिंहको उक्त डकुमेन्टमा कांग्रेस कमजोर बन्नुको आधार, सांगठनिक तथा सैद्धान्तिक विषयका साथसाथै नेतृत्वको कमजोरीका विषयमा टिप्पणी गरिएको छ ।


ADVERTISEMENT

# # #


काँग्रेस इतिहासमै कमजोर स्थितिमा पुग्नुमा एउटामा मात्रै कारण नरहेको भन्दै सिंहले निर्वाचन पराजयमा पार्टी सभापति, नेतृत्व विशेष वा कुनै एउटा पक्षलाई मात्र दोष देखाएर आफु चोखो बन्ने प्रयास कसैले पनि गर्न नहुनेमा जोड दिएका छन् ।
यद्यपी उनले सभापति शेरबहादुर देउवाको कार्यशैलीको भने चर्को आलोचना गरेका छन् ।

राष्ट्रियसभा निर्वाचन, प्रतिनिधिको सभामुख उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष, राष्ट्रपति, उपराष्ट्रपति पद लगायतमा काँग्रेसले कुनै स्थान नपाउनुलाई तीनै तहको निर्वाचन पराजयको परिणामसंगै जोडेर बैठकमा समीक्षा गरिनु पर्नेमा उनले जोड दिएका छन् ।

संविधानसभाबाट संविधान जारी भए पछि तत्कालिन पार्टी सभापति सुशील कोइराला र पार्टीको चर्चा भएपनि पुनः सुशील कोइरालालाई वामपन्थीविरुद्ध प्रधानमन्त्रीको उम्मेदवार बन्न लगाएदेखि नै कांग्रेसको ओरालोयात्रा सुरु भएको सिंहको ठहर छ ।

‘प्रधानमन्त्री पदबाट राजिनामा दिइसके पछि पार्टीले प्रधानमन्त्री पदमा जित्ने कुनै आधार नहुँदानहुँदै कुन राजनीतिक एवम् नैतिकताको धरातलबाट सुशील कोइरालाजीलाई पुनः प्रधानमन्त्री पदमा प्रतिश्पर्धा गराइयो ? संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेर जनतामा हाईहाई हुनु भएको तत्कालिन प्रधानमन्त्री सुशील कोइराला र नेपाली काँग्रेस, कोइरालाले प्रधानमन्त्री पदमा पुनः प्रतिस्पर्धा गरे पछि प्राप्त त्यो लोकप्रियता कम्युनिष्ट सत्तामा आए पछि शेयर बजार ओरालो लागे जस्तै त्यो घटनाले नेपाली काँग्रेसको लोकप्रियता ह्वात्तै घटेको थियो’, सिंहले भनेका छन् , ‘ काँग्रेस आजको यस दुःखद् घडिमा आईपुग्नको लागि यो दुःखदायी घटना नै प्रस्थान विन्दु थियो ।’

उनले त्यसवेला पार्टीलाई दाउमा लगाउने गरी गरिएको यो घटनाका जिम्मेवार को को थिए र यस घटनाबाट पार्टीलाई कति क्षति हुन गयो भन्नेबारे बैठकमा छलफल हुनुपर्नेमा समेत जोड दिएका छन् ।

यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई धोकेबाजको संज्ञा दिएका छन् । पाँच महिनाको भारतीय नाकाबन्दीलाई खेपेर लोकप्रियताको उचाईमा पुगेको अवस्थामा प्रचण्ड जस्तो धोकेबाज नेतासंग भर परेर ओली सरकारलाई ढलाउनु र उनैलाई स्वीकार गर्नुले पनि पार्टी अहिलेको अवस्थामा आइपुगेको उनको दाबी छ ।

उनले भनेका छन्, ‘हाम्रो नेताले प्रधानमन्त्री पदको हतारो नगरी केही महिना मात्र पर्खिएको भए भारतको चर्को आलोचना मात्र गरेर बनेको ओलीको कथित खोक्रो राष्ट्रवाद जनताका बीच उखाङ्गो हुने थियो, हिन्द महासागरमा पानी जहाज कुदाउने देखि, घरघरमा ग्यास पाइपलाइन र काठमाडौंमा मेट्रो कुदाउने उनका काल्पनिक सपनामा आधारित ओलीको लोकप्रियता ध्वस्त हुने निश्चित थियो ।’

तर, पार्टी सभापतिले गलत निर्णय गर्दा त्यही पृष्ठभूमिमा टेकेर एमाले र बाम गठवन्धनले निर्वाचनमा सफलता प्राप्त गरी कांग्रेसले सर्मनाक हार बेहोर्नुपरेको उनको तर्क छ ।

यस्तै मधेश केन्द्रित दलहरूलाई मनाउने क्रममा काँग्रेस संविधान संशोधनको पक्षमा रहँदा जनतालाई बुझाउन नसकिएको पनि उनले उल्लेख गरेका छन् । यसैलाई टेकेर विपक्षी दल कांग्रेस विरुद्ध अपबाह फैलाउन सफल भएको पनि उनको डकुमेन्टमा उल्लेख छ ।

यस्तै उनले निर्वाचनमा मधेसी दललाई सघाउनुको औचित्यसमेत पुष्टि हुन नसकेको उल्लेख गरेका छन् ।

यस्तै सिंहले काँग्रेस भित्र कायम रहेको ६०/४० को भागवण्डालाई समाप्त गरेर सबैलाई समेटेर पार्टीलाई एक बनाएर लैजाने भनेपनि त्यस्तो नदेखिएको तथा गुटलाई मात्रै संरक्षण गर्दा पार्टी थप तहसनहस बनेको आरोप लगाएका छन् । यसैगरी उनले प्रधानमन्त्री हुँदा देउवाले सत्ताको दुरुपयोग गर्दै अलोकप्रिय निर्णयहरु गर्नुले पनि पार्टी यो अवस्थामा पुगेको आरोप पनि लगाएका छन् ।

अब पार्टीलाई सुदृढ र बलियो बनाउन जिल्ला सभापतिहरूको माग वमोजिम जिल्ला सभापतिहरूको राष्ट्रिय सम्मेलन समेत वोलाई त्यसको सुझावलाई समेत समेटेर यथाशिघ्र महासमितिको वैठक बोलाइनुपर्ने सुझाव सिंहले दिएका छन् ।

यस्तै पार्टीको विधानलाई आवश्यकता अनुसार संशोधन एवम परिमार्जन गरी सोही संशोधित विधानको शिघ्र कार्यान्वयन गर्दै महाधिवेशन सम्पन्न गरिनुपर्नेमा पनि सिंहको जोड छ ।