काठमाडौं–सत्तारुढ दुई दल एमाले र माओवादी केन्द्रबीच वैशाख १० गते पार्टी एकता गर्ने तयारी भैरहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणअघि नै एकता प्रकिया टुंग्याउने प्रस्ताव माओवादी नेतृत्वलाई पठाएका छन् । औपचारिक रूपमा ट‌ुंगो लाग्न भने बाँकी भएपनि चैत २३ गतेदेखि प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी थालिएको छ ।


ADVERTISEMENT


शनिबार माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठकले सकेसम्म चाँडो एकता टुंग्याउने निर्णय गरेको छ । प्रधानमन्त्रीको प्रस्तावबारे एमालेमा भने अौपचारिक रूपमा कुनै छलफल भएको छैन। यसअघि नेपालमा कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन (अप्रिल २२, यसपालि वैशाख १०) पार्टीको एकता गर्ने तयारी थियो।


ADVERTISEMENT

# # #


पार्टी एकताको काम अघि बढाउन गठित राजनीतिक र सांगठनिक प्रतिवेदन कार्यदलले आफ्नो काम टुंग्याई सकेका छैनन् । राजनीतिक प्रतिवेदनको पहिलो ड्राफ्ट तयार भए पनि त्यसमा छलफल बाँकी नै छ । सांगठनिक कार्यदलको काम भने धेरै सदस्यहरू मन्त्री बनेपछि प्रभावित बनेको एमाले नेता तथा कार्यदल सदस्य सुरेन्द्र पाण्डेले स्रोतलाई जानकारी दिएका छन् ।

‘कार्यदलका धेरै साथीहरू मन्त्री बनेपछि हामी बैठक बस्न सकेका छैनौ,’ उनले भने।

प्रधानमन्त्रीले चैत २३ गते आफ्नो प्रस्तावित भारत भ्रमणअघि नै पार्टी एकता टुंग्याउने चाहना देखाएकाले आइतबार दुबै कार्यदलका बैठक बस्दैछन् । प्रधानमन्त्रीले किन भारत भ्रमणअघि नै हतारमा पार्टी एकताको काम टुंग्याउन चाहेका हुन् भन्नेबारे दुबै पार्टीमा अनुमान चलेका छन् ।

‘भारतमा बलियो देखिनका लागि प्रधानमन्त्रीले चाँडै एकता चाहनुभएको होला,’ एक एमाले नेताले भने ‘म दुई तिहाई गठबन्धनको नेतामात्र होइन, विशाल पार्टीको अध्यक्ष पनि हुँ भन्ने सन्देश दिन होला ।’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले दुई ठूला पार्टीको गठबन्धनको नेताभन्दा एकीकृत पार्टीको नेताका रूपमा प्रधानमन्त्री भारत जान चाहेको अनुमान गरिन् ।

प्रधानमन्त्रीले किन आफ्नो भारत भ्रमणअघि नै पार्टी एकता टुंग्याउन चाहनुभएको हो ? भन्ने प्रश्नमा भुसालले भनिन्, ‘अौपचारिक रूपमा म भन्न सक्दिनँ । मेरो अनुमानमा गठबन्धनको नेताभन्दा दुई ठूला पार्टी मिलेर बनेको एकीकृत पार्टीको नेताका रूपमा उहाँ भारत जान चाहनुभएको होला ।’

दुई पार्टीबीच एकताको घोषणा भए पनि एकताले अौपचारिकता नपाएका कारण पार्टी संगठनहरू निष्क्रियजस्तै बनेका कारण पनि प्रधानमन्त्रीले एकतामा हतार गरेको ओलीनिकट एक नेताले बताए । ‘पार्टीको एकता टुंगिदा त्यसले दिल्लीमा पनि राम्रो सन्देश जान्छ, तर एकीकृत पार्टीलाई सक्रिय बनाउन पनि एकताको काम चाँडो टुंग्याउनु पर्ने देखिएको छ,’ उनले भने ।

प्रधानमन्त्रीले हतार गरेपनि उनको भ्रमणअघि नै एकीकृत कम्युनिष्ट पार्टी निर्वाचन आयोगमै दर्ता हुन कठिन देखिएको एक नेताले बताए । राजनीतिक प्रतिवेदनको पहिलो मस्यौदा तयार भएको छ, तर केन्द्रदेखि गाँउसम्मका सांगठनिक संरचना कस्ता बन्ने त्यसमा दुबै पार्टीको संलग्नताको आधार के हुने भन्नेबारे सांगठनिक कार्यदलमा अझै सहमति भैसकेको छैन।

चुनावमा जस्तो ६०–४० वा अरू कुनै अनुपात तोकेर संगठन एक गर्न कठिन हुने माओवादी केन्द्रको धारणा छ । ‘हामीले समानताका आधारमा तलदेखि माथिसम्म संगठन निर्माण गर्ने प्रस्ताव राखेका छौं, एमालेका साथीहरू त्यसमा बोलिसक्नुभएको छैन,’ एक माओवादी नेताले भने।

पार्टी एक भएको घोषणा गर्ने र निर्वाचन आयोगमा दर्ता गराउन कम्तीमा पार्टीको स्थायी समिति र केन्द्रीय समिति एक भैसक्नु पर्ने दुबै पार्टीका नेताको धारणा छ । केन्द्रीय समिति कत्रो बनाउने ? दुबै पार्टीका नेताको प्रतिनिधित्वको अनुपात के हुने ? भन्ने बिषयमा विस्तृत छलफल हुन बाँकी रहेको छ ।

दुई पार्टीबीच केन्द्रीय समितिको भागबन्डा सकिएपछि पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनअनुसार केन्द्रीय समितिमा लैजाने नेताहरूको नाममा सहमति हुनु पर्नेछ । एमालेभित्र ओली र माधवकुमार नेपाल समूहबीच यो विषय विशेष पेचिलो देखिन्छ । सकेसम्म आफ्नो पक्षका धेरै नेता केन्द्रीय समितिमा परून् भन्नेमा दुबै पक्ष चनाखो देखिन्छन् ।

पार्टी पोलिटब्युरो, केन्द्रीय समितिको एक तिहाइ रहने र स्थायी समिति पोलिटब्युरोको एक तिहाइ रहने प्रचलन भएकाले केन्द्रीय समिति गठन भएपछि माथिल्ला समिति गठन हुन गाह्रो नहुने दुबै पार्टीका नेताहरू बताउँछन् । तर केन्द्रीय समितिमा जाने नेताहरूको नाम टुंग्याउन भने दुबै पार्टीलाई ठूलो चुनौती हुनेछ ।